७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नेकपा प्रदेश २ को शपथ कार्यक्रममा कुर्सी तोड्ने देखि प्रदेश अध्यक्षमाथि हातपात सम्म


२४ भदाै, महाेत्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं २ का छ जिल्लाको शपथ कार्यक्रम रोकिएको छ । महोत्तरीको बर्दिवासमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र सप्तरीसहित छ जिल्लाका लागि तय भएको शपथ कार्यक्रम पार्टीभित्रकै असन्तुष्ट पक्षको विरोधपछि स्थगित भएको हो ।

अन्तिम समयमा महोत्तरीसहित धनुषा, सर्लाही र रौतहट जिल्लाको शपथ कार्यक्रम स्थगित गरिए पनि सिरहा र सप्तरीको शपथ गराउने तयारी भइरहेका बेला झडप भएपछि कार्यक्रम अघि बढ्न नसकेको बताइएको छ । असन्तुष्ट पक्षले बर्दिवास सेवा समितिको सभा भवनमा कुर्सी तोडफोड गर्नुका साथै प्रदेश अध्यक्ष प्रभु साहलाई हातपात नै गरेपछि कार्यक्रमस्थल तनावग्रस्त बनेको छ ।

प्रहरीले अध्यक्ष साहलाई सुरक्षित रुपमा बाहिर निकालेका छन् । प्रदेशका सचिव सुमनराज प्याकु¥या भने सभाभवनभित्रै बस्नुभएको छ । बाहिर भइरहेको चर्को नाराबाजीलाई सचिव प्याकु¥यालले अराजक भीड बताउनुभएको छ ।


पूर्वएमाले र पूर्वमाओवादी केन्द्र एकीकरणको एक वर्षपछि गत साउनमा जिल्ला कमिटी समायोजन गरिँदा पार्टी विधानअनुसार मापदण्ड नबनाई केही नेताले आफूखुशी बनाएका जिल्ला कमिटी मान्य नहुने असन्तुष्ट पक्षले बताउँदै आएका छन् । मापदण्ड निर्धारण गरेर मात्र पार्टी कमिटी समायोजन गर्नुपर्नेमा केही नेताले आपूmखुशी नाम राखेपछि असन्तुष्टि बढेको प्रदेश कमिटी सदस्य महोत्तरी भटौलियाका बासिन्दा विजय कर्णले बताउनुभयो ।

असन्तुष्ट पक्षले शपथ स्थगित गरी प्रदेश कमिटी सचिवालयले जिल्ला कमिटीमा समायोजन गरिनेहरुको आधार तयार गर्न मापदण्ड तय गर्नुपर्ने माग गरेका छन् । मापदण्ड तय नगरी बनाइएको जिल्ला कमिटीको शपथ हुन नदिने असन्तुष्ट पक्षको अडान छ ।

यता प्रदेश सचिव प्याकु¥यालले एकीकरणको क्रममा जिल्ला कमिटी समायोजन गरिदा केही तलमाथि परेको भए त्यसलाई सच्याउन पार्टी तयार रहेको स्पष्ट पार्नुभयो । तर, सभाभवनमा कुर्सी तोडेर वा जिम्मेवार नेतालाई गालीगलौज गरेर निकास आउँछ भन्ने ठान्नु गलत हुने उहाँको भनाइ छ ।

अब पार्टीको उपल्लो निकायको निर्देशनमा के गर्ने निर्णय गरिने सचिव प्याकु¥यालले बताउनुभयो । “दुवै अध्यक्ष र महासचिवसँग परामर्श गरिनेछ”, प्याकु¥यालले भन्नुभयो, “जे निर्देशन हुन्छ, त्यहीँ गरिन्छ ।”

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार १६:०८