१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

विकास र समृद्धिका लागि आशाजनक वातावरण तयारः प्रधानमन्त्री ओली


२४ भदौ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको उच्च प्रविधिको प्रयोग गरेर उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यलयमा रहेको एक्सन रुमबाट मोदीले नयाँ दिल्लीबाट स्विच दबाएर पाइपलाइनको उद्घाटन गर्नु भएको छ ।

उद्घाटन पछि भिडियो कन्फरेन्स मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ढुवानीमा समय बचत गर्ने, लागत घटाउने, सवारी यातायात कम गर्ने र वायु प्रदूषणलाई कम गर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले यस प्रकारका पाइपलाइनहरुको विस्तारका लागि नेपालले अरु अवसर पनि दिने बताउनुभएको छ ।

“यस पाइपलाइनले नेपाली उपभोक्ताहरुमा सकारात्मक प्रभाव परेको छ । आजै देखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा दुई रुपैंया मूल्य घटाएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस बाहेक परियोजनाले दुई देशका बीचमा परस्पर सम्बन्ध र पारस्परिक निर्भरता बढाउनेछ । नेपाल र भारतको ट्रेड र ट्रान्जिट पूर्वाधारको सम्बन्धमा कनेक्टिभिटीको सर्वश्रेष्ठ उदाहरण समेत हुनेछ । यसका लागि म प्रधानमन्त्री मोदीजी र भारत सरकारलाई धन्यवाद दिन चाहन्छु ।”

प्रधानमन्त्री ओलीले नेपालले भारतसँगको सम्बन्धलाई ठुलो महत्व दिएको बताउनुभएको छ । “हाम्रा दुई देश बीचको सम्बन्ध यती गहन यसलाई जहाँ र जहिले पनि यसलाई बिस्तार गर्ने अवसर हुन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल इतिहासको महत्वपूर्ण मोडमा भएको उल्लेख गर्नभएको छ ।

नेपाल र भारत दुवै स्पष्ट बहुमतको सरकारका साथ राजनीतिक स्थायित्वको स्थितीमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “बढ्दो आर्थिक वृद्धिदर,गतिशिल र सक्षम मानव संसाधनको उपलब्धताले हामीलाई विकास र समृद्धिका लागि आशाजनक वातावरण तयार गरेको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसले आपसी लाभका लागि दुई देशहरुबीच साझेदारी र सहयोगलाई थप सुदृढ पार्न सक्षम वातावरण पनि सिर्जना गरेको छ ।” प्रधानमन्त्री ओलीले नेपाल भारत सम्बन्धको लागि नयाँ जोश,गतिशिलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार १४:५३