१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

राष्ट्रिय परिचयपत्रः तनहुँमा विवरण सङ्कलन उत्साहजनक


२२ भदाै, दमाैली । राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा एक हजार १०५ ले विवरण दर्ता गराएका छन् । साउन ६ गतेदेखि भदौ १८ गतेसम्म परिचयपत्रका लागि उक्त विवरण दर्ता गरिएको हो । विवरण सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र फिल्ड कार्यालय स्थापना गरिएको छ ।

फिल्ड कार्यालयका सुपरभाइजर मुना रिजालले दैनिक २०¬–२५ ले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रशासन कार्यालयबाट नागरिकता बनाएलगत्तै सर्वसाधारणको विवरण दर्ताको व्यवस्था मिलाइएको छ”, रिजालका अनुसार विवरण दर्ताका लागि सर्वसाधारणमा उत्साह छाएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले प्रशासन कार्यालयकै एउटा कोठामा फिल्ड कार्यालय स्थापना गरी विवरण सङ्कलनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । प्रजिअ पण्डितका अनुसार नयाँ नागरिकता जारी हुने बित्तिकै राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

प्रजिअ पण्डितका अनुसार परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औँला छाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।

विवरण दर्ताका लागि तीन कर्मचारी परिचालन गरिएको छ । चालू आर्थिक वर्षमा सबै स्थानीय तहका वडासम्म पुगेर विवरण सङ्कलन गर्ने तयारी गरिएको छ । “अहिले कार्यालयमै सर्वसाधारणले परिचयपत्रका लागि विवरण दर्ता गराउन सक्छन्”, उहाँले भन्नुभयो, “चालू आर्थिक वर्षमा वडा–वडामै पुगेर विवरण दर्ताको व्यवस्था मिलाइनेछ ।”

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा पाँचथर र सिंहदरवारस्थित राष्ट्रसेवक कर्मचारी गरी एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरेको छ । यही साउनदेखि प्रदेश नं १ को झापा र सङ्खुवासभा, प्रदेश नं २ का सप्तरी र महोत्तरी, प्रदेश नं ३ को ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशका तनहुँ र स्याङ्जा, प्रदेश नं ५ को कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशको सल्यान र जुम्ला तथा सुदुरपश्चिम प्रदेशको अछाम र कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण सङ्कलन शुरु भएको छ ।

नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवासुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रुपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रुपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ ।

अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आवद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोहीअनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ ।

राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रुपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलवार १३:५७