११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

नुवाकोटमा १८ वर्षमा चार हजार उद्यमी


९ बैशाख, नुवाकोट । लघु उद्यम विकास कार्यक्रम (मेडेप) अन्तर्गत चार हजार भन्दा बढी नयाँ उद्यमी भएका छन् । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम र अष्ट्रेलियन सहयोगमा सञ्चालित मेडेप कार्यक्रमअन्तर्गत विगत अठार वर्षमा चार हजार १७५ नयाँ उद्यमी बन्न सफल भएको बजार विकास विशेषज्ञ भीम मोक्तानले जानकारी दिनुभयो ।

“विसं. २०५६ देखि मेडेप कार्यक्रम यहाँ सञ्चालन भएको थियो,” मोक्तानले भन्नुभयो, “अब यो कार्यक्रमलाई बदलिँदो स्वरुपमा सञ्चालनको योजना बनाएका छौ ।” मेडेपका रुपमा सञ्चालन हुदैं आएकोमा अब त्यसलाई गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडेपा)लाई प्रवद्र्धन गर्न लागिएको उद्योग विकास शाखाका निमित्त निर्देशक विजय भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेडपको सहयोगमा जिल्लामा २२ वटा सहकारी संस्था र १९ वटा साझा सुविधा केन्द्र सञ्चालनमा छन् । “भूकम्पले क्षति व्यहोरेका उद्यमीको पुनःउत्थानका लागि शीघ्र उद्यम तथा पुनरोत्थान परियोजनामार्फत रु आठ करोड ८१ लाख सहयोग पु¥यायौ,” निमित्त निर्देशक भट्टराईले भन्नुभयो, “भूकम्पपीडितलाई पुनःउद्यम शुरु गर्न तालीम, प्रविधि, साझा सुविधा केन्द्र पुनःनिर्माणमा रु एक करोड ४४ लाख खर्चिएका छौ ।”

‘औद्योगिक व्यवसाय ऐन’ अनुसार रु पाँच लाखसम्मको स्थिर पुँजी, उद्यमी स्वंय सञ्चालनमा व्यवस्थापक, बढीमा नौजना कामदार र वार्षिक कारोबार रु पचास लाखसम्म लगानी भएकालाई ‘लघु उद्यमी’मा सूचीकृत गर्ने गरिएको छ ।

यसमार्फत स्वरोजगार, गरिबी निवारण, स्थानीय उत्पादनको प्रवद्र्धनमा प्रत्यक्ष सहयोग पुग्दै आएको छ । नयाँ उत्पादन भएका उद्यमीले कृषि तथा वन, उत्पादन, सेवामूलक, सूचना र प्रविधिको क्षेत्रमा काम गर्दै आएका छन् । मेडेपमार्फत हाल यहाँको विदुर र बेलकोटगढी नगरपालिका एवं ककनी, तादी र सूर्यगढी गाउँपालिकामा नयाँ उद्यमी विकास गर्न यो आवमा रु ७५ लाख बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७५, आईतवार १४:०६