१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पाल्पाको सिङ्गो गाउँ नै भाइरल ज्वरोबाट सङ्क्रमित


–सुशीला रेग्मी

पाल्पाको पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा क्षेत्रमा भाइरल ज्वरोको प्रकोपले सताएको छ । यहाँका एकै गाउँका ७३ जनामा भाइरल ज्वरोको सङ्क्रमणले सताएको छ । गाउँमा चार दिनअघि देखि भाइरल ज्वरोका बिरामी देखापरेका हुन् । गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि गाउँपालिकाले शिविर नै खडा गरेर स्वास्थ्य उपचार सेवा दिएको स्वास्थ्य शाखा उपसंयोजक मोहन ढकालले बताउनुभयो । भाइरल ज्वरोका बिरामीमध्ये १७ जना विद्यार्थी रहेका छन् । शिविरमार्फत निःशुल्क स्वास्थ्य उपचार तथा औषधि दिइएको छ ।

गाउँपालिकाका अन्य क्षेत्रमा पनि फाट्टफुट्ट मात्रामा भाइरल ज्वरोका बिरामी देखापरेका छन् । जिल्लाको तानसेन, रामपुर क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामी देखिएका छन् । भाइरल ज्वरोबाट बच्न जिल्लाका सबै स्वास्थ्य संस्थामा बिरामीको राम्रो रेखदेख र सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई अनुरोध गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो ।

प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउने, उमालेको पानी मात्र प्रयोग गर्ने, दोहोरो हावा आउने शान्तपूर्वक ठाउँमा बस्ने, भीडभाडमा नजाने, हात नमिलाउने, अङ्कलमाल नगर्ने र कुनै स्वास्थ्य समस्या भएमा नजीकको स्वास्थ्य संस्थामा उपचार तथा सल्लाह लिन जाने गरेमा भाइरल ज्वरोबाट बच्न सकिने सूचना अधिकारी ज्ञवालीको सुझाव छ । रुघाखोकी लागेजस्तो हुनु, ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, नाकबाट सिँगान बग्नु, शरीर दुख्नु, खान मन नलाग्ने जस्ता भाइरल ज्वरोको लक्षण हुन् । स्वास्थ्य संस्थामार्फत नागरिकलाई भाइरल ज्वरोबाट सचेत रहन विभिन्न जनचेतना दिइएको छ ।

कोठाबाट सेवा दिदा महिला बिरामीलाई सास्ती

रामपुर नगरपालिका–१० को शहरी स्वास्थ्य केन्द्रमा महिला बिरामीलाई सेवा लिन समस्या परेको छ । सेवा लिन पुगेका कतिपय महिलाभित्रै नपसी बाहिरबाटै फर्कने गरेको पाइएको छ ।

महिलासम्बन्धी विभिन्न समस्या लिएर स्वास्थ्य केन्द्रमा पुगेका बिरामी अझै पनि डर र लाजका कारण आफ्ना समस्या बताउन हिचकिचाउने गरेको पाइएको छ । कतिपय महिला स्वास्थ्यकर्मीलाई बाहिर बोलाएर मात्र आफ्ना समस्या बताउने गर्छन् भने कतिपय भित्र अन्य बिरामी तथा पुरुष स्वास्थ्यकर्मी देखेपछि उपचार नै नगराई अर्को दिन स्वास्थ्य केन्द्रमा पुग्ने गरेका छन् ।

गर्भवती, महिलासम्बन्धी विभिन्न रोगका बिरामी डर र लाजका कारण सेवा लिन हिचकिचाउने गरेको स्वास्थ्य केन्द्रका अनमी बिन्दु पाण्डेय अधिकारी बताउनुहुन्छ । “एक जना पुरुष स्वास्थ्यकर्मी हुनुहुन्छ, उहाँलाई बाहिर पठाएर मात्र जाँच गर्ने गरेका छौँ, गर्भवती तथा महिलासम्बन्धी विभिन्न समस्या भएका बिरामीले कोठा बाहिरै बोलाएर समस्या बताएर मात्र भित्र पस्ने गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।

अन्य बिरामीको तुलनामा महिला बिरामीलाई कोठा अभावमा जाँच गर्न अप्ठ्यारो परेको उहाँ बताउनुहुन्छ । स्वास्थ्य केन्द्रमा महीनामा १० जनाको हाराहारीमा गर्भवतीले सेवा लिने गरेको पाइएको छ । कोठाको अभाव हँुदा सेवा लिनका लागि पालो पर्खेर बस्नु परेको गर्भवती महिला सविता भण्डारीको भनाइ छ । “घरबाट बल्लबल्ल समय निकालेर आयो, समयमै परीक्षण गर्न नपाउँदा समस्या भएको छ” उहाँले भन्नुभयो ।

“गर्भवती जाँच गराउन दुई–तीन घण्टा पालो पर्खनुपर्छ, सबैका अगाडि जाँच गर्न र आफ्ना समस्या बताउन अप्ठ्यारो हुन्छ”, भण्डारीले गुनासो गर्नुभयो । एउटै कोठामा सबै बिरामीलाई राखेर स्वास्थ्य परीक्षण गरिने हुँदा महिला आफ्ना समस्या बताउन लजाउने गर्छन् । अधिकांश महिलाले घरपरिवार, आफन्तको डर र लाजका कारणले खुलेर आफ्ना स्वास्थ्य समस्या बताउन नचाहेको पाइन्छ । स्थानीय आमा समूहको सानो भवनबाट सेवा दिन समस्या परेको शहरी स्वास्थ्य केन्द्रका प्रमुख जगन्नाथ भण्डारी बताउनुहुन्छ । रासस

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार १६:००