१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नुवाकोटमा नेकपाका नेताहरूले झोलुङ्गे पुल काटेर कवाडीलाई बेची यसरी बाँडे पैसा


२० भदौ, नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा नेकपाको नाममा भैरहेको गैरकानुनी गतिबिधिको चाङ् बढ्दै गएको  छ। मेयरले नै अनेक मान्छे लगाएर रातमा बालुवा तस्करी गराउनेदेखि प्राकृतिक स्रोतको दोहनमा नेकपाका नेता कार्यकर्ताको उल्लेखनीय योगदान देखिएको छ । नेकपाले चुनाव जितेको विदुर नगरपालिकाका केही वडामा कांग्रेसले पनि चुनाव जितेको छ । तर दुबै दलको प्रतिस्पर्धा राम्रो काममा भन्दा पनि बद्मासीमा देखिएको छ ।

केही समयअघिमात्र एक जना कांग्रेस नेता समेत रहेका वडा नम्बर ३ का अधयक्षले मदिराको मातमा सर्वसाधरणको घरमा ढुंगामुढा गरेको सेलाउन नपाउँदै नेकपाका दुइ नेताले मिलेर झोलुङ्गे पुलनै काटेर बेचेको खुलासा भएको छ । विदुर नगरपालिका–५ का वडाध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी नगरपालिका–८ का वडाध्यक्ष भोजप्रसाद पुडासैनीमाथि देवीघाटस्थित तादी खोलामा रहेको झोलुङ्गे पुल कबाडीमा बिक्री गरेका हुन । उनीहरू दुबै नेकपाका नेता हुन ।

उक्त पुल बेचेको पैसाबाट चित्रकारले ३५ हजार र पुडासैनीले ३५ हजार भागवण्डा गरेका हुन । अझ पछिल्लो समय झोलुङ्गे पुलनै काटेर बेची वडा अध्यक्षहरूले पैसा भागवण्डा गरेको विषयले बजार तातिएको छ । झोलुङ्गे पुलनै काटेर बेच्दा पनि चुँ नगरेका विदुरका मेयर सञ्जु पण्डित अहिले भ्रम छर्न तल्लीन देखिएका छन । उनी उक्त पुल गल्छी(त्रिशुली सडक आयोजनाले काटेर फ्याँकेको र नगरपालिकाले व्यवस्थापनमात्र गरेको तर्क गर्न थालेका छन । दैनिकीसँग कुरा गर्दै मेयर पण्डितले विषय पुरानै भए पनि मिडियामा भर्खरैमात्र आएको भन्दै सडक आयोजनाले काटेर फालेको पुल वडाले व्यवस्थापन गरेको दाबी गरे । उनले वडा अध्यक्षले नै पुल काटेको भए आफूले पहिल्यै नै कारबाही गरिसक्ने बताए ।

जबकी सडक आयोजनाले उक्त पुलमाथि छड्के नजर समेत नलगाएको बताएको छ । सडक आयोजनाका प्रमुख नारायण भण्डारीले तत्कालीन प्रमुख सुवोधकुमार देवकोटालाई उधृत गर्दै आयोजनाले उक्त झोलुङ्गे पुलमा छड्के नजरसमेत नलगाएको बताउँछन । उनका अनुसार झोलुङ्गे पुलका सम्बन्धमा आयोजनाले कुनै पनि दख्खल दिएको छैन । मेयर पण्डितसहित वडा अध्यक्षहरू कानुनी कारबाहीको भागिदार हुने भएपछि नेकपाका नेताहरू बचउमा लागेका छन । यद्यपी यसमा निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गरिनु आवश्यक छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार २१:१२