६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

टान निर्वाचनः ९८२ मतमात्र खस्यो, कसले मार्ला बाजी नेकपा कि कांग्रेस ?


२० भदाै, काठमाडाैँ । पदयात्रा व्यवसायीहरूको छाता संगठन ट्रेक्रिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ नेतृत्वका लागि मतदान सम्पन्न भएको छ । १ हजार ३१९ मतदाता मध्ये ९८२ मत खसेको निर्वाचन समितिको कार्यालयले जनाएको छ । होटल सोल्टीमा जारी निर्वाचनमा मतगणना पनि त्यही हुने जनाइएको छ । टानको यस निर्वाचनलाइ खास महत्वका साथ हेरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरू मुकुन्द न्याैपाने, घनश्याम भुषाल र योगेश भट्टराइ नै फिल्डमा उत्रिएर भोट मागेका थिए । उनीहरूले नेकपाको तर्फबाट अन्जन थापा कुमारको नेतृत्वमा मैदानमा टिम उतारेका छन । त्यस्तै नेपाली कांग्रेसले यसपटक खुम्ब सुवेदीको नेतृत्वमा टिम मैदानमा उतारेको छ । थापा समुहले मतदाता अलमलिने डरले यातायातको व्यवस्था मिलाइ मतादातालाइ ठमेलबाट सोल्टी होटलसम्म पुर्याएको थियो ।

दुबै टिमले निर्वाचन परिचालनका नाममा एक/एक करोडभन्दा बढी खर्च पनि गरेका छन । लगातार दुइ कार्यकाल नेकपा निकटका व्यवसायीले चुनाव जितेको टानमा यसपटक पनि त्यसकै निरन्तरताका लागि नेकपाले पहल गरेको छ भने कांग्रेसले अाफ्नो नेतृत्व स्थापित गर्ने प्रयास गरेको छ । अाजै राति १ बजेसम्म नतिजा अाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार १९:१२