६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गरिने, ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन हुने अपेक्षा


१९ भदाै, काठमाडाैँ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ‘सगरमाथा हिमाल सफाइ अभियान–२०१९’ अन्तर्गत सगरमाथा क्षेत्रबाट थप ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गर्ने भएको छ । कम्पनीले यसअघि सफाइ अभियानका साझेदार संस्थाको सहयोगमा उक्त क्षेत्रबाट ४५ टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गरिसकेको जनाएको छ । यती एयरलाइन्सले भगिनी संस्था तारा एयरमार्फत सफाइ अभियानका साझेदार संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालय क्लब लुक्ला र खुम्बु पासाङल्हामु गाउँपालिकाको सहयोगमा नकुहिने फोहर जम्मा गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

‘रिसाइक्लिङ’ गर्ने संस्था ‘ब्लु वेस्ट टु भ्यालु’ र राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी)सँगको सहकार्यमा एयरलाइन्सले फोहर उठाएको कम्पनीका वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिनुभयो । उहाँले यही सेप्टेम्बर महीनाभित्र थप ३० टन पुनः प्रयोग गर्न मिल्ने फोहर जम्मा गर्ने र ‘एयरलिफ्ट’ गरेर काठमाडौँ ल्याउने योजना रहेको बताउनुभयो ।

पर्वतारोहण र पदयात्राजस्ता गतिविधिबाट उत्पन्न भएका नकुहिने फोहरको ‘एअरलिफ्टिङ’ को शुरुआत १७ मार्च २०१८ बाट भएको थियो । दिगो विकास लक्ष्यअन्तर्गत जैविक विविधता संरक्षण एसडिजी १५ र जलवायु परिवर्तन एसडिजी १३ सँग सम्बन्धित प्रतिबद्धतास्वरुप यती एयरलाइन्सले २०१८ मा सगरमाथा क्षेत्रबाट १०० टन पुनः प्रयोग गर्न मिल्ने फोहर सङ्कलन गरेर ‘रिसाइक्लिङ’का लागि ल्याउने लक्ष्य लिएको थियो ।

सगरमाथा सफाइ अभियानका साझेदार संस्थाको सहकार्यमा खुम्बु गाउँपालिकाले सगरमाथा क्षेत्रबाट नकुहिने फोहर सङ्कलन गर्नेछन् । यसरी सङ्कलन भएको फोहर तारा एयरमार्फत लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलबाट ‘एयरलिफ्ट’ गरी काठमाडौँ ल्याइने जनाइएको छ । सङ्कलन गरिएका फोहरमा बियरका बोतल, फुड क्यान, पर्वतारोहण र ट्रेकिङमा प्रयोग गरी फालिएका उपकरणलगायत हुन्छन् । यी वस्तुलाई ‘रिसाइकल’ गरी धातुका भाँडाकँुडा र निर्माण सामग्रीमा परिणत गरिने गरिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार २३:०७