Logo

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न पर्यटनमन्त्री भट्टराईलाई नाट्टाको ७ बुँदे सुझाव



१९ भदौ, काठमाडौँ । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई ७ बुँदे सुझाव दिएको छ । नाट्टाले पूर्व अध्यक्षहरुलाई समेत साक्षी राखेर मन्त्री भट्टराईलाई भ्रमण वर्ष सफल पार्ने सुझावहरु प्रस्तुत गरेको हो ।

मन्त्री समक्ष सुझाव पेश गर्दै अध्यक्ष पाण्डेले अन्य देशहरुले जस्तै बढ्दो सूचना प्रबिधिको विकास अनुसार पर्यटकहरुका लागि अनलाइन भिसा शुल्कसहित उपलब्ध गराउने व्यवस्था मिलाउन मन्त्रीलाई अनुरोध गरे । अध्यक्ष पाण्डेले अध्यागमन सेवामा एक्सप्रेस काउन्टर खोल्न र अध्यागमन अधिकृतहरु तालिम प्राप्त र उपयुक्त व्यवहार भएको राख्नुपर्नेमा जोड दिए ।

उनले निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध विमानस्थल चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउन अन्तर्राष्टिय कम्पनीहरुसँग जिटुजी गराउनका निम्ति नाट्टाले पनि सहयोग गर्ने बताए । उनले भ्रमण वर्ष सफल बनाउन निजी क्षत्रको तर्फबाट पनि विभिन्न समिति निर्माण गरेर काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै पाण्डेले विदेशस्थित नेपाली दूतावास, कन्सुलेट तथा कुटनैतिक मिशनहरुलाई परिचालन गराई भ्रमण वर्षमा कति पर्यटक पठाउन सक्ने हो त्यसको प्रतिवद्धता माग्न सुझाव दिए । उनले त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्ट गराउने भनिएकोमा यथाशिघ्र सो कामलाई पूर्णता दिई विमानस्थलकको सौन्दर्यकरण गर्न समेत माग गरे । उनले ७ बुँदे सुझाव पत्र पढेर मन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

नाट्टाको सुझावहरु ग्रहण गर्दै मन्त्री भट्टराईले कार्यान्वयनको प्रतिबद्धता जनाए । उनले नेपाल भ्रमण वर्ष सफल पार्नका लागि निजी क्षेत्रबाट विगतमा जस्तै सहयोग रहने विश्वास व्यक्त गरे । मन्त्री भट्टराईले नेपाल वायुसेवा निगमले सुरु गरेको नेपाल–जापान सीधा हवाइ सेवाकाका लागि निजी क्षेत्रले सहयोग गर्ने र अझबढी नाट्टाको रहने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार १७:२२
प्रतिक्रिया दिनुहोस्