६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

एनआरएन युरोप उपसंयोजकमा कृष्ण तिमल्सिनाकाे उम्मेदवारी, यस्ता छन् प्रतिवद्धता


१९ भदाै, काठमाडाैँ । आगामी अक्टोबरमा तय भएकाे एनआरएन निर्वाचनमा बेलायत निवासी कृष्ण तिमल्सिनाले युरोप उप–संयोजक पदमा उम्मेदवारी दिने भएका छन् । एनआरएनभित्र परिचित व्यक्तित्व तिमल्सिनाले आगामी अक्टोबर १५ देखि हुने विश्व सम्मेलनमा युरोप उप–संयोजक पदमा आफूले उम्मेदवारी दिन लागेको बताए ।

लामो समय एनआरएन अभियानमा होमिदा प्राप्त अनुभवलाई नेतृत्वदायी भूमिकामा रहेर उपयोग गर्ने योजनाका साथ आफूले सो पदमा उम्मेदवारी दिन लागेको तिमल्सिनाले जानकारी दिए । देश निर्माणमा अहिले एनआरएनको काँधमा पनि ठूलो जिम्मेवारी आएको छ, त्यसैले युरोपमा रहेका नेपालीलाई अझ संगठित गर्दै देश निर्माणमा लाग्न प्रेरित गर्नुपर्नेमा उनको जोड छ ।

युरोपमा युरोपियन युनियन लगायत यहाँका संघ संस्था ब्यबसायीलाई नेपालमा सहयोग तथा लगानी गर्न प्रेरित गर्न, युरोपमा एनआरएन एनसीसीलाई थप बिस्तार गर्न, अहिले युरोपमा सकृय राष्ट्रिय समन्वय परिषदलाई अझ संस्थागत, दिगो र एनआरएन आइसीसीप्रति उत्तरदायी बनाउन, युरोपमा बसेका नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यसको निराकरणमा प्रयास गर्न, युरोपमा जन्मे हुर्केका नेपाली बाल बच्चाहरुलाई एनआरएनमा समाहित गर्दै देश, भाषा र हाम्रो संस्कृतिप्रति रुची जगाउन पहल गर्ने जस्ता कार्ययोजना समेत उनले अघि सारेका छन् ।

सन् २००७ देखि एनआरएन अभियानमा होमिएका तिमल्सिना यसअघि सन् २०११ देखि २०१३ मा एनआरएन युकेको कार्यसमिति सदस्य चयन भएका थिए । यस्तै सन् २०१३ देखि ०१५ मा एनआरएन युकेकै उपाध्यक्ष बनेका उनी सन् २०१७ देखि १९ को कार्यकालका लागि अध्यक्षको प्रत्यासी बनेका थिए। सोअघि शेष घलेको कार्यकाल सन् २०१५ देखि ०१७० मा केन्द्रीय सदस्य बनेर काम गरेको अनुभव संगालिसकेका उनको एनआरएनका सबै पूर्वअध्यक्षहरुसँग राम्रो सम्पर्क रहेको छ ।

एनआरएनले सञ्चालन गर्दै आएका सम्पूर्ण अभियानमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका तिमल्सिनाले सबैको सहसल्लाहमा आफूले उपसंयोजक पदमा उम्मेदवारी दिने निधो गरेको र विजयी हुनेमा पनि ढुक्क रहेको बताए । हाल एनआरएन युकेको सल्लाहकारको भूमिकामा रहेका तिमल्सिनाको युरोप क्षेत्रका एनआरएन नेपालीसँग व्यक्तिगत सम्पर्क समेत राम्रो रहेको छ ।

विशेषतः युरोप क्षेत्रका समग्र सुद दुःखमा एनआरएन नेपालीसँगै हिँड्ने उनको प्रतिबद्धता रहेको छ । करिब १८ वर्षदेखि बेलायतमा रहँदै आएका धादिङ धुवाँकाेटका उनी यूकेमा समाजसेवीको रूपमा परिचित छन् । विभिन्न च्यारिटीको कामदेखि अनेकन समाजसेवाका गतिविधिमा उनी अग्रपंक्तिमा रहेर सक्रिय रहँदै आएका छन् । यस्तै उनले नेपालमा विद्यालय, वृद्धाश्रम, मन्दिर निर्माणदेखि अन्य विभिन्न सामाजिक काममा समेत निरन्तर सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार ११:०४