१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

हिन्दू धर्ममाथि प्रहार हुन खोजेको छः अध्यक्ष राणा


१३ भदौ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपतिशम्शेर राणाले हिन्दू धर्ममाथि प्रहार हुन खोजेको बताउनुभएको छ । नेपाल गृहस्थ धर्मसेवा सदन सामाखुशीले कुशे औँसीका अवसरमा आज यहाँ आयोजना गरेको ‘पिता सम्मान कार्यक्रम’मा उहाँले सनातनदेखि चल्दै आएको धर्ममाथि प्रहार हुन खोजेको बताउनुभएको हो ।

“परम्परादेखि चल्दै आएको धर्मको रक्षा गर्नु हामी सबैको दायित्व हो”, उहाँले भन्नुभयो । अध्यक्ष राणाले धर्म संस्कृतिले हाम्रो समाजलाई अनुशासित र मर्यादित बनाएको उल्लेख गर्नुभयो । पूर्वमन्त्री एवम् विश्व हिन्दू महासङ्घका अध्यक्ष रामचन्द्र अधिकारीले जीवनमा लामो अनुभव भोगेका ज्येष्ठ नागरिकबाट समाजले पाठ सिक्नुपर्ने बताउनुभयो । “पिताको सम्मान गर्नु नै सबैभन्दा ठूलो पुण्य प्राप्ति गर्नु हो”, उहाँले भन्नुभयो ।

विश्व हिन्दू महासङ्घका महासचिव गणेश न्यौपानेले बुबाआमालाई एक दिन मात्र सम्मान गरेर पर्याप्त नहुने बताउनुभयो । “मन्दिरमा गएर मात्र धर्म मिल्दैन, दिन दुःखी, असहाय, गरीबको सेवा गर्नु धर्म हो”, उहाँले भन्नुभयो । एक दशकपहिले स्थापना भएको सदनले गरीब, दुःखी, वृद्धवृद्धालाई सहयोग तथा सामाजिक काम गर्दै आइरहको सदनका अध्यक्ष तुलसीराम पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार २३:२२