१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

 – रामराजा थापा

हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । हाम्रो देश आफ्नै रीति रिवाज, धर्म र संस्कृतिले भरिएका छन । हाम्रो समाजमा विविधता कायम भएको छ। र, यही विविधता नै समाजको सौन्दर्यता पनि हो । एउटै फूलको बगैंचा भन्दा थरिथरिका फूल फूलेको बगैंचा नै बढी सुन्दर देखिन्छ।

यहि सास्कृतिक विविधता भएको समाज नै एउटै मात्र संस्कृति भएको समाज भन्दा अझै धेरै सुन्दर देखिन्छ । यही विविधताले भरिएको समाजमा अनेक धर्मावलम्बी मानिस बस्दै आएका छन् र, त्यही धर्मसँग जोडिएर सस्कृति र रीति रिवाज बन्दै र पालन हुँदै आएका छन्।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नेपालीहरुको घर आँगनमा आइसकेको छ । तीज आउनु महिनौं अघिदेखि महिलाहरु विभिन्न ठाउमा भेला भएर दर खाने कार्यक्रम चलिरहेको छ।

रामराजा थापा

हिन्दु महिलाको महान पर्व तीज धार्मिक आस्था र सांस्कृतिक महत्वका साथ मनाइने भएपनि आधुनिकताका नाममा नचाहिँदो तडक भडक पार्टी प्यालेसदेखि पाँचतारे होटलसम्म दर खाने, ख्वाउने र बहुमूल्य वस्तुको प्रदर्शनी गर्ने होड चल्न थालेपछि तीज पर्वकोे वास्तविक मौलिकता हराउन थालेको छ । केही वर्षदेखि विभिन्न संघसंस्था,दलहरु र तिनका भातृ संगठनको आयोजनामा सामूहिक रुपमा दरखाने अभियान चलिरहेको छ। कुनै पनि चाड पर्व आफ्नो हैसियत अनुसार मनाउनुपर्छ।

धर्म संस्कृतिको सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्छ। केही हदसम्म समय क्रम अनुसार परिवर्तन पनि गर्नुपर्छ। तर पछिल्लो समय तीज भड्किलो भन्दै गएको छ । समयक्रमसँग नेपालमा तीज मनाउने चलन फेरिएको छ। सांस्कृतिक र पारिवारिक महत्व बोकेको तीज मनाउने क्रममा आएको परिवर्तनले तीजमा सस्तो र अभद्र माया प्रेमको विषयले ठाउँ पाएको छ। तीजका पुराना लोकभाका र सन्देश आधुनिकतासँगै हराएको छ। तीज आउनुभन्दा महिनौं अघिदेखि यसको सांगीतिक माहोल तयार भइसकेको हुन्छ।

धार्मिक र सांस्कृतिक मौलिकतालाई चटक्कै बिर्सेर तीजलाई समयानुकूल परिस्कृत गर्ने नाममा तीज आउनु महिनौ अघिदेखि पार्टी प्यालेस र होटलमा महँगा गरगहना कपडा प्रदर्शनी गर्ने र टिकट बिक्री गर्ने प्रचलन बढेको छ। पार्टी प्यालेस घर टोल र सडक तीजमय देख्न पाइन्छ दिदीबहिनीहरु महँगा पहिरन र गहनामा सजिएर दर खान हिँड्ने र डिस्कोमा जस्तै जथाभावी उफ्रिने प्रचलन हावी भएको छ। हिजोआज तीजमा गाइने मिठा सामाजिक सन्देश बोकेका र भाव भएका गितहरु सुनिन छोडेका छन्।

युबा युवती हरु अमर्यादित पाराले नाचिरहेका दृश्यहरुले सामाजिक सञ्जालका भित्तामा महँगा गहना र महँगा भेषभुषलाई प्राथमिकता दिएर रंगिएका देखिन्छन्। आर्थिक हिसाबले पनि तीज झन खर्चिलो र भड्किलो फेसन भएको छ। अस्वस्थकर खानपान आदिले एकातर्फ सामाजिक जनजीवनमा नकारात्मक प्रभाव पार्छन् भने अर्कोतर्फ फजुल खर्च र उपभोग्य प्रवृत्तिको विकासलाई सहयोग पुर्याइरहेको छ।
तीज मनाउने क्रममा हुनेखाने महिलाहरुले हुँदाखाने महिलाहरुलाई पछाडि पारेका छन्। यस्ता विकृति र भड्किलो फेसनले कमजोर आर्थिक हैसियत भएका महिलाहरुले तीज मनाउन नसकिरहेको स्थिति छ ।

पहिला आमाहरुको पालामा तीजलाई महिलाहरुले आफनो विशिष्ट चाडका रुपमा मनाउँथे। आफना पिर, व्यथा, वेदना अनि सुख दुखलाई गीत संगीतका माध्यमबाट अभिव्यक्त गर्थे। तीजका गितहरुमा महिलाहरु एकत्रित भएर नाच्थे एकापसमा गाउँथे तर अहिले त्यस्ता गित सुन्न पाइँदैनन् । महिनौं दिन देखि तीजका नामा दर र दारु खाने परम्पराले संस्कृति जगेर्ना गर्न सक्दैन।

अबको पुस्ताले तिजलाई नाच्ने र गाउने चाडको रुपमा मात्र नलिई परम्परा र संस्कृति धान्ने चाडका रुपमा लिनु उपयुक्त हुन्छ। आउने दिनमा कुनै पनि संस्था हरुले तिजको नाममा हुने भड्किलो कुरा रोक्न सकिएन भने आगामी पुस्ताले चाडपर्व मान्न छाड्ने छन।बिस्तारै लोप हुने छ।सर्वसाधारण परिवारमा पर्ने आर्थिक भार र मानसिक असरलाई ध्यानमा राखेर चार्डपर्व भडकिलो र खर्चिलो नगरीकन मनाऔ। सम्पुर्ण दिदी बहिनी हरुमा हरितालिका तीजको शुभकामना शुभकामना शुभकामना।

बिदुर न पा १०, गेर्खुटार, नुवाकाेट

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार ११:४२