११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

नाडा अटो शो काठमाडाैँमा शुरू, यस्ता छन् विशेषता


१० भदौ, काठमाडौँ । सवारी साधनहरूको महा मेला ‘नाडा अटो शो–२०१९’ शुरू भएको छ । नेपाल अटो मोबाइल डिलर्स एसोसिएसन (नाडा)को आयोजनामा आजदेखि अटो शो शुरू भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले नाडा अटो शोको उद्घाटन गरे । नाडा अटो शो आगामी १४ भदौसम्म चल्ने आयोजकले बताएका छन् ।

चार पांग्रे तथा दुई पांग्रे सवारी प्रदर्शन गर्ने र ग्राहकहरूले सवारी साधनको बारेमा जानकारी लिने, अवलोकन गर्ने तथा सवारी साधन बुकिङ गर्ने मेलाको मूख्य विशेषता हो । सवारी साधनहरूको कुम्भ मेलाका नामले समेत चिनिँदै आएको यो पटकको १४औं प्रदर्शनी हो ।

यस वर्षको नाडा अटो शोमा ४२ ब्राण्डका सवारी साधन प्रदर्शन गर्ने यसअघि नै जानकारी गराइसकेको थियो । सोही अनुसार स्टलहरू निर्माण गरिएका छन् । सवारी साधनसँगै सम्बन्धित अन्य वस्तुहरू जस्तै लुब्रिकेन्ट्स, सवारी पार्टपूर्जा गरी ८२ ब्राण्ड प्रदर्शनमा रहेका छन् । विभिन्न ब्राण्डका लुब्रिकेन्ट्स, टायर लगायत ८२ ब्राण्ड प्रदर्शनमा छन् ।

नाडाका अनुसार प्रदर्शनीमा २३ ब्राण्डका चार पाङ्ग्रे, १९ ब्राण्डका दुईपाङ्ग्रे, १२ ब्राण्डका लुब्रिकेन्ट, ९ ब्राण्डका टायर, ५ ब्राण्डका ब्याट्री र १४ ब्राण्डका पार्टपूर्जा एवम् ग्यारेज उपकरण गरी ८२ ब्राण्डका वस्तु प्रदर्शनमा छन् ।

लक्ष्मी बैंक, एभरेष्ट बैंक लगायतका १२ बैंकहरूले पहिले जस्तै अहिलेको वर्ष पनि स्टल राखेका छन् । गत वर्ष स्थान अभावको कारण देखाउँदै नाडाले बैंकहरूलाई स्टल राख्न दिएको थिएन । यस वर्ष भने बैंकहरूका साथै बीमा कम्पनीले पनि स्टल राखेका छन् । सवारी कर्जाका बारेमा विविध जानकारी दिने उद्देश्यले आफ्ना स्टल नाडा अटो शोमा राखिएको बैंकका कर्मचारीहरू बताउँछन् ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार १३:५९