१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नेकपा नुवाकोटले स्थानीय तहको एकता टुंग्यायो, १२ मध्ये ७ स्थानीय तहमा पूर्व एमालेको नेतृत्व


६ भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नुवाकोटको स्थानीय तहको एकता टुंग्याएको छ । बिहीबार र शुक्रबार २ दिनसम्म काठमाडौँमा भएको नेकपा नुवाकोटको बैठकले स्थानीय तहको एकताको टुंगो गरेको हो । बैठकमा नेकपाका नुवाकोटका इन्चार्ज महेन्द्रबहादुर पाण्डे, नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, सचिव नारायण खतिवडा, नेताहरू बद्री मैनाली, धर्मराज अधिकारी, बुद्धिबहादुर प्रधान, विष्णु लोहनी, कल्पना रिमाल उपस्थित रहेका थिए ।

बैठकले १२ स्थानीय तह रहेको नुवाकोटमा ७ स्थानीय तहको अध्यक्ष पूर्व एमाले र ५ स्थानीय तहको अध्यक्ष पूर्व माओवादीलाई दिने निर्णय गरेको छ । त्यस्तै पूर्व एमालेले अध्यक्ष रहेको स्थानीय तहमा पूर्व माओवादी सचिव र पूर्व माओवादी अध्यक्ष रहेको स्थानीय तहमा पूर्व एमाले सचिव रहने निर्णय भएको सांसद समेत रहेका नेकपाका नेता बद्री मैनालीले दैनिकीलाई जानकारी दिए । मैनालीका अनुसार बैठकले स्थानीय तहको इन्चार्ज भने ७ वटा पूर्व मओवादीलाई दिने र ५ ओटा पूर्व एमालेलाई दिने निर्णय भएको छ ।

पूर्व एमालेले अध्यक्ष पाएको स्थानीय तहमा विदुर नगरपालिका, तादी गाउँपालिलका, लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका रहेका छन । पूर्व माओवादीले अध्यक्ष पाएको स्थानीय तहमा बेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका, शिवपुरी गाउँपालिका, पञ्चकन्या गाउँपालिका र मेघाङ गाउँपालिका रहेका छन ।

त्यस्तै बैठकले संघीय निर्वाचन क्षेत्र नम्बर १ को नेतृत्व पूर्व एमाले र क्षेत्र नम्बर २ को नेतृत्व पूर्व माओवादीले लिने निर्णय गरेको छ । प्रदेशसभा १ को क मा पूर्व एमाले र ख मा पूर्व माओवादी तथा संघीय निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश क मा पूर्व माओवादी र प्रदेश ख मा पूर्व एमालेले नेतृत्व लिने निर्णय भएको छ ।

यस्तै बैठकले पार्टीको सचिवालय गठनका लागि ४९ जना मध्ये २५ जना पूर्व एमाले र २४ जना पूर्व माओवादीको तर्फबाट रहने निर्णय गरेको पनि नेता मैनालीले बताए । उनले विभागहरू मध्ये १५ वटामा पूर्व एमाले र १४ वटामा पूर्व मओवादीले नेतृत्व लिने निर्यण भएको बताए । त्यस्तै जिल्ला सल्लाहकार परिषद्को नेतृत्व पूर्व एमालेको तर्फबाट हुनेछ भने जेष्ठ कम्युनिष्ट मञ्चको नेतृत्व पूर्व माओवादीबाट हुनेछ । पार्टीको इन्चार्जको रूपमा महेन्द्रबहादुर पाण्डेले जिम्मेवारी पाउने वित्तिकै एकता प्रक्रिया टुंग्याउनका निम्ति पहल कदमी लिएका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार २०:२६