७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

सशस्त्र प्रहरीद्धारा एकै दिन १२ सय २२ पिन्ट रगत संकलन, महानिरीक्षकदेखि जवानसम्मले गरे रक्तदान


६ भदाै, काठमाडाैँ । ‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय लगायत देशका सबै प्रदेशहरुमा रहेका बाहिनी मुख्यालयहरुमा भाद्र ०६ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । उक्त रक्तदान कार्यक्रममा सबै ठाउँमा गरी करीब १२ सय २२ पिन्ट रगत संकलन भएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृत तथा विल्लादार जवानहरु तथा भूतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरुले समेत रक्तदान गर्नुभएको छ ।

सशस्त्र प्रहरी ऐन जारी भएको दिन सशस्त्र प्रहरी बल, नेपालले देशभर रहेका सशस्त्र प्रहरी बल, नेपालको बाहिनी मुख्यालयहरु तथा प्रधान कार्यालयमा ‘सशस्त्र प्रहरी महानिरीक्षक रक्तदान कार्यक्रम’को आयोजना गर्ने कार्यको थालनी गत वर्षबाट गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले रक्तदान कार्यक्रममा सहभागीता जनाउनु भएका सबैप्रति आभार प्रकट गर्नुहुँदै विगतमा रगतको अभावमा बिरामीले सास्ती व्यहोर्नु परेको अवस्था समेत रहेको यथार्थ स्मरण गर्नुहुँदै केही थोपा रगत दिएर कसैको जीवन बचाउन सकियो भने त्यो नै सवैभन्दा ठूलो सेवा हुने बताउनुभयो ।

उहाँले रगतको अभावमा जीउ जोखिममा पर्नसक्ने नागरिकलाई रगत प्रदान गर्नेतर्फ ध्यान पु¥याउँदै आम नागरिकहरुलाई रक्तदान गरी जीवनदान दिनुपर्छ भन्ने अभियानका साथ संगठनले रक्तदान कार्यक्रमलाई देशब्यापी रुपमा संचालन गर्दै आईरहेको बताउनुभयो । ‘सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम’मा स्थानीय भद्रभलादमी, नेपाल पूर्व सशस्त्र प्रहरी संघ, सशस्त्र प्रहरी परिवार महिला संघ, सशस्त्र प्रहरी कर्मचारीहरु तथा अन्य महानुभावहरुले रक्तदान गरेका छन् ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कडेल खनाल, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु बासुदेव वली, सनतकुमार बस्नेत, किशोरकुमार लामा र शैलेन्द्रकुमार श्रेष्ठ, दुर्जकुमार राई र सिंहबहादुर श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार १६:५९