८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

टेलिभिजनको नाममा गरिबका छोराहरूलाई हतियार बनाएर डनगिरी गर्न पाइन्छ ?


-नारायण नेपाल

जीवनको दुःख पनि अनेक हुने । कहिलेकाहीँँ त आर्यघाटको धुवाँँमा उडेको जीवनका सप्तरंगी सपना देख्दा लाग्छ के लेख्नु र कसका लागि लेख्नु ! दुनियाँँको कथाव्यथा उतारेर दलाल र तस्करकोे सातोपुत्लो उडाउने एक पत्रकार आज दुनियाँसामु हारेर गयो । जीवनका अनगिन्ती सपना मारेर गयो । कुमारी भिरटोलमा जन्मिएर जीवनको उकालीओराली गर्दै पत्रकारको रूपमा उदाएका शालिकराम पुडासैनी चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परे । उनको मृत्युलाई लिएर सामाजिक मिडियामा अनेकौं बहस चलेका छन् । आशंका जन्मिएको छ ।

नुवाकोटको माथिल्लो झ्याङली थियो उनको जन्मघर, कुमारीका हुनेखाने सामन्तहरूले कोल्पुकाफटाबाट चिम्टेश्वरको डाँडातिर औंल्याएर यो गाउँको नाम भिरटोल राखिदिए । बाबु अनन्तराम र आमा मनकुमारीको काइँलो छोरा भएर शालिकराम सामान्य किसान परिवारमा जन्मिएका थिए । गाउँको पुछारमा रहेको वीरेन्द्र उच्च माविबाट पूरा गरेका थिए उनले प्रारम्भिक शिक्षा । त्यहीँको स्कुले जीवनमा मौलाएको थियो सम्झनासँग उनको अल्लारे प्रेम । चिनियाँ भञ्ज्याङका सल्लेघारी पाखाहरू थिए साक्षी, त्यहीं कोपिलाझैं प्रेम मौलाउँदै विवाह बन्धनमा बाँधिन पुगे उनीहरू । सम्झना जनयुद्धका शहीद विद्यार्थी नेता हेम घिमिरेकी भतिजी । बुबा बेलकोटगढी वडा नम्बर ३ को अध्यक्ष । जनयुद्धको आधारकिल्ला नुवाकोटको थवाङ भनेर चिनिने कुमारी गाउँका प्रायः युवा जुझारु स्वभावका भेटिन्थे, त्यस्तै थिए सानैदेखि शालिकराम पनि ।

चितवनको होटलदेखि आर्यघाटसम्म देखापरेका आफन्तजनको आक्रोश पनि त्यही प्रतिरोधात्मक चेतनाको प्रतीक हो, धन्न ती सम्हालिए र कुनै अप्रिय घटना भएन । ०६४ सालमा देशभर संविधानसभाको हुरी चलेका बखत विद्यालय शिक्षालाई बिट मारेर शहर पसेका थिए शालिकराम । कुमारी गाउँ छाडेर बाबु–आमाको दुःख मेटाउने, जीवनका सपना फुलाउने, नयाँ अठोट थियो । जीवन गुजाराको मेलोमा सेक्युरेटी अफिस खोले ।
काम राम्रो चलेको थियो । त्यही बेला बलम्बु खोलाछेउ भएको बधशालाबारे भिडियो खिचेर दिएपछि पत्रकारिता यात्राको श्रीगणेश भएको हो । दीपक बोहराको अनुरोधमा सीधाकुरा जनतासँँग कार्यक्रममार्फत पत्रकारितामा जोडिए । समय अवधिका हिसाबले दुई वर्ष पनि होइन तर उनको साहस, निडरता र लगनशीलताका कारण यो यात्रामा ठूलो उचाइ चुम्न सफल भए । उनी पछिल्लो समय मिसन न्युज अभियान लिएर माउन्टेन टिभीतिर बसाइँ सरेका थिए ।

साउन २० गते बेलुका १० बजेपछि पत्रकार शालिकरामको शव फेला परेको हल्ला भुसको आगोजस्तै फैलँदै थियो । चितवनदेखि कुमारीसम्मका साथीभाइसँग सम्पर्क हुन नसकेपछि राति ११ बजे घुमाउरो पारामा आसलाग्दो युवा पत्रकारसम्बन्धी हल्ला झुट होस् भन्ने स्ट्याटस लेखियो । चितवन पुगेका आफन्तजन हत्याको आशंकामा उद्वेलित भए । त्यो आशंका होटल व्यवसायीतिर सोझिएर जाहेरी दिइयो । तर, उनका मोबाइल बरामद भएपछि भने थप तथ्य उब्जियो र जाहेरी परिवर्तन गर्दै मृतकलाई पोस्टमार्टम गर्न शिक्षण अस्पतालतिर ल्याइयो । पोस्टमार्टमपछि अन्तिम संस्कार गर्न पशुपति आर्यघाटतिर पुगेका आफन्तजनलाई पत्रकारको हुलले भन्दा आर्यघाटको कारुणिक दृश्यले उद्वेलित बनाएको थियो । एक पत्रकारको रहस्यमय मृत्युबारे अन्य पत्रकारलाई पनि चासो र सोधखोज हुनु स्वाभाविकै हो । त्यो अवस्थाले केही असामान्य स्थिति  पैदा भयो । दुनियाँलाई क्यामेरा र माइक देखाएर तर्साउने डन आफंै क्यामेरा देखेर भागेको दृश्य अनौठो थियो । नत्र समवेदना र श्रद्धाञ्जली दिन आएको उसले घटनाको निष्पक्ष छानबिन होस् भन्ने आँँट गर्न किन सकेन र फेसबुक लाइभको सहारामा अनेकौं आशंका मृतकमाथि नै लाञ्छना लगाउँदै पोख्यो ?

सवाल गम्भीर छ, छातीमा लात थापेर, ज्यानको बाजी लगाएर रिपोर्ट संकलन गर्ने पत्रकारले आज किन आत्महत्याको बाटो रोज्यो ? मर्नै परेपछि खुट्टा तानेर, पोल खोलेरै मरेको होला त पत्रकारले ? दुनियाँलाई चासो छ । नेपालमा लगानीकर्ताको स्वार्थमा खोजमेल गर्ने र मिसन सञ्चालन गर्ने धन्दा छ । देखे/भोगेको सत्य कहाँ लेख्न र बोल्न सकिन्छ त ? तलबका लागि गरिने पत्रकारितामा सत्य प्रकट हुँदैन । स्वार्थको नियोजित र प्रायोजित सामग्रीले जनताको दिमागलाई प्रदूषित गर्दैछ ।  नबोली मरेको भए आज दुनियाँ गुमराहमा पर्ने थिएन होला । जनकवि गोकुल जोशीले एकपटक भनेका थिए–

भोकभोकै मर्न लागे कवि–कलाकार
तड्पाएर नमारिदेऊ, झुन्ड्याएर मार

गोकुल बाँस्कोटाले न्यूनतम तलब नपाएर पिल्सिएका पत्रकारको निम्ति २४ हजारो सीमा तोकिदिए तर शालिकरामले रातदिन काम गर्दा पनि ठूला व्यापारिक घरानाबाट करोडौं फुत्काउनेहरुबाट रु. १८ हजारसमेत पाएनन् । र, दुनियाँलाई सुसूचित पार्दै मालिकलाई करोडौं असुलीको बाटो खोलिदिने एक श्रमजीवी पत्रकार परिवार पाल्न नसकेर बाबुआमा र श्रीमतीसँग माफी माग्दै जीवनदेखि पलायन भयो । श्रमजीवी पत्रकारलाई झुण्डिएर मर्न बाध्य पार्नेहरू कठघरामा उभिन जरुरी छैन । सीधा कुराको नारा लगाएर बांगो नियत राख्नेहरूको शिकार बनेकै हुन् त शालिकराम ? त्यो टिमबाट निस्कने शालिकराम सुशील अर्यालपछिका अर्का हुन्, मिसनको धन्दा र फण्डाबारे पोल खुल्ने भयमा छट्पटिनेहरूले लुटको स्वर्ग बचाउन अनेकौं हत्कण्डा नअपनाउलान् भन्न सकिन्न । मरेको मान्छेले न्याय पाएको छैन । मर्ने त मरी गो, बाँच्नेलाई किन सास्ती ? शालिक मर्नुभन्दा काल पल्कनु खतरा हो । आज चिच्याउनेहरु लोकप्रिय हुने र तिनको दबाबमा परेर दुनियाँ भ्रमित हुनुपर्ने अवस्था छ ।

लाइसेन्सबिनाका तथाकथितसँग आस र त्रास पालेर किन बाँच्छ नागरिक समाज ? यो प्रश्नको जवाफ खोज्नु पर्दैन सरकार ? व्यक्तिगत रिसइबी साँध्न सञ्चारमाध्यमलाई प्रयोग गर्ने, बिनाकारण निहुँ खोज्ने, पावर र पहँुचका आधारमा आइजीदेखि प्रचण्डसँग समेत रिसइबी साँध्ने माध्यम बनेको छ  सञ्चारमाध्यम ? दुनियाँ तर्साउने र असुल्ने अर्थात् एकप्रकारले लुटपाट गर्नेलाई लुटेको धनले पक्कै पोल्छ एक दिन त भन्ने कामना गरेर बस्ने कि केही सार्थक पहल पनि गर्ने ? पत्रकारिताको आडमा धनकुबेरहरूको सम्पत्ति राष्ट्रियकरण गरौं न गोकुल कामरेड, दुईतिहाइले त्यसो गर्न किन सक्दैन ? शालिकरामले सीधा कुरा छाडेर मिसन न्युज रोज्नु माउन्टेन र मालिकहरूको स्वार्थको रणसंग्राम हो भने इराकमा १२ जना नेपालीलाई मर्न आफ्नो म्यानपावरमार्फत पठाउने अनिल जोशीहरूले पनि उन्मुक्ति पाउनु हुन्न । टिभी चलाएर दुनियाँ थर्काउन पाइन्छ ? सञ्चारमाध्यम र गरिबका छोराहरूलाई हतियार बनाएर डनगिरी गर्न पाइन्छ ?

आज समाज नै एकप्रकारको फ्रस्टेसन र डिपे्रसनको शिकार किन बन्दै छ, २४ घण्टा रेडियो, टिभी, पत्रपत्रिका, सामाजिक सञ्जाल आशावादी जीवन र रचनात्मकताभन्दा नकारात्मकता, निराशा, कुण्ठा किन बाँँडिरहेछन् दुनियाँलाई ? किन बढ्छ डिप्रेसन मान्छेमा ? यसको मेडिकल विज्ञान मात्र होइन समाज विज्ञानभित्र पनि सूक्ष्म अध्ययन जरुरी छ । मर्नेहरू अपराधी र बाँच्नेहरूचाहिँ देवता हुन् भन्ने तर्क नगरियोस्, निष्पक्ष छानबिन र अनुसन्धान होस् यावत् सवालको । हुन त महाकवि देवकोटालाई पागल भनेर राँची पु¥याउने देश हो यो नेपाल । शालिकलाई डिप्रेसन थियो त्यही भएर मरेको हो भन्दै हल्ला चलाउनेहरुले बुझ्न जरुरी छ । किन भयो डिप्रेसन ? पागल भन्दै राँची लगिएका बेला देवकोटाले लेखेका थिए ।

जरुर साथी म पागल
यस्तै छ मेरो हाल
म शब्दहरूलाई देख्दछु
दृश्यहरू सुन्दछु
वास्नालाई स्वाद लिन्छु
ती कुरा जसको अस्तित्व लोक मान्दै छ
जसको आकार संसार जान्दैन ।।

साउन २२ गते ३ः५७ मा २१ः३७ मिनेटको लाइभ भिडियो गज्जबको छ । अहिले रवि बचाऊ म्यासेञ्जर अभियानसम्म आउँदा यो गोयबल्स प्रचार किन चल्दैछ ? गहिरो प्रश्न सिर्जना भएको छ । यस्तो भयो होला, झुटो लाञ्छना लाग्यो होला, अनुमानभन्दा छानबिन गरांै, सत्यतथ्य बाहिर ल्याउन सक्दो सहयोग गर्छु किन भन्न नसकेको होला ? अझै त्यति म कमजोर छैन भन्ने धाक रवाफ किन ? कुमारीको पखेरामा घाँँसदाउरा गर्ने किसानको छोरोभन्दा चिच्याहटको शैली त बलियो होला तर के यो देशमा ठूलो स्वर गर्नेले जे गरे पनि हुने हो ? त्यसोभए हिजो अष्टमाया गुरुङको मृत्युमा दुबईसम्म पुग्नेहरू आफ्नै सहकर्मीको दुःखद् मरणमा किन पुगेनन् चितवन ? म हँु हत्यारा र अपराधी त दुनियाँमा कसले भन्छ र ? बरु ७ तलाबाट हाम्फालेर मर्न तयार हुन्छ तर सत्य र अपराध स्वीकार गर्न सक्दैन मान्छे– किन होला ?

आज ठूला मिडियाको दादागिरी र एकाधिकार तोड्ने काम सामाजिक मिडिया र युट्युबरले गरेका छन् । सबैलाई गाली गर्दा पनि युट्युबबाट डलर फल्छ ।  बचाऊ अभियानको अडियो सन्देश सुनेपछि बालखकालमा हजुरआमाले सुनाएको कथा याद आयो, एकादेशमा एउटा गाउँ थियो । एकपटक ठूलो चोरी भएछ । चोर पत्ता लगाउन भन्दै मुखियाले सबै गाउँलेलाई बोलाएर एक हात लामो लट्ठी दिएछन् र भनेछन्– यो कसैले कसैलाई नदेखाउनू भोलि आउँदा जो चोर हो, उसको लट्ठीचाहिँ थप एक बित्ता लामो हुन्छ । सबै घर–घर लागे । लट्ठी एक बित्ता लामो हुने भएपछि चोरलाई चिन्ता लागेछ र एक बित्ता नापेर लट्ठी काटेछ । बिहान उठेर हेर्दा त लट्ठी ज्युँका त्यँु छ । त्यसपछि मुखियाले एक बित्ता लामो पो हुन्छ भनेको, छोटो भयो त के बिग्रियो भन्ने सोच्दै गाउँले भेलातिर लागेछ । मुखिया बाले सबैलाई एक÷एक गरी लट्ठी देखाउन भने । सबैले देखाए । तर, त्यही एक बित्ता छोटो लट्ठीवालाचाहिँ चोर ठहर भयो । कथा सकियो । कथा त्यसे नहोस्, कामना छ !

जनअास्था न्युजबाट साभार 

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार २१:५४