१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

स्थानीय पाठ्यक्रम निर्माण गर्दै काठमाडौँ महानगरपालिका, लेखनका लागि समिति गठन


४ साउन, काठमाडौँ । काठमाडौँ महानगपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिका शिक्षा समितिको आज (बुधबार) बसेको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौँ महानगरपालिकाका मेयर एवं महानगर शिक्षा समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पाठ्यक्रम लेखनका लागि दुई ओटा समिति समेत निर्माण गरेको छ । कक्ष एकदेखि आठसम्मको नेपाल भाषाको पाठ्यक्रम निर्माणका लागि काठमाडौँ महानगरपालिका शिक्षा अधिकारी निर्मला केसीको अध्यक्षतामा एउटा समिति बनेको छ । त्यसमा प्राडा चुन्दा बज्राचार्य, हरिभक्त श्रेष्ठ र सदस्यसचिव मोतिराज खनाल रहनु भएको छ । नेपाल भाषा ऐक्षिक विषयका रुपमा रहने छ । त्यसैगरी अंग्रेजी र नेपाली भाषका लागि अर्को छुट्टै समिति बनेको छ ।

त्यसको पनि अध्यक्ष केसी नै रहनु भएको छ भने सदस्यहरुमा चुन्दा बज्राचार्य, प्रोफेसर मदनराज मानन्धर, माधव घिमिरे, नतीकाजी महर्जन र ज्ञानबहादुर अधिकारी रहनु भएको छ । सदस्य सविचमा महानगरपालिका शिक्षा विभागका अधिकृत तारापति खरेल रहनु भएको छ ।
ती समितिलाई काठमाडौँ महानगरपालिका भित्र चल्ने सामुदायिक र संस्थागत विद्यालयको कक्षा एकदेखि कक्षा आठसम्मको पाठ्यक्रम निर्माणको जिम्मेवारी दिइएको महानगरपालिकाले जानकारी दिएको छ । ‘कक्षा एकदेखि आठसम्म नेपाली र नेपाली भाषामा र नेपाल भाषाको ऐक्षिक विषयका रुपमा पाठ्यक्रम निर्माण गर्ने निर्णय बैठकले गरेको छ,’ काठमाडौँ महानगरपालिका शिक्षा अधिकारी निर्मला केसीले भन्नुभयो, ‘यसको कार्यादिन ६० दिनको हुन्छ ।

त्यसपछि हामी पाठ्यपुस्तक लेखनमा जान्छौँ ।’ महानगरपालिका शिक्षा विभागका अधिकृत खरेलले पनि शैक्षिक सत्र २०७६ बाट स्थानीय पाठ्यक्रम प्रत्येक विद्यार्थीको हात–हातमा पुग्ने जानकारी दिनुभयो । ‘आगामी शैक्षिक सत्रबाट सामूदायिक विद्यालयलाई निशुल्क र संस्थागत विद्यालयलाई शुल्क तिरेर उपलब्ध गराउने पनि उहाँले जानकारी दिनुभयो । ‘पाठ्यक्रम बन्नका लागि ६० दिन लाग्छ ।

शिक्षा समितिले त्यसलाई पास गर्छ र कार्यपालिकाले अनुमोदन गरेपछि पाठ्यपुस्तक लेखनमा जान्छ,’ उहाँले भन्नुभयो, ‘पाठ्यक्रममा काठमाडौँको पेशा–व्यवसाय, धर्म, कला, संस्कृति, भौगोलिक अवस्थिति, वास्तुकला, मुर्तीकला, पर्यटन जस्ता विषयलाई समावेश गरिन्छ ।’ उहाँले काठमाडौँ महानगरपालिका भित्रका ६० र उपत्यकाका ४० प्रतिशत विषयवस्तु समेटेर पाठ्यपुस्तक निर्माण गर्ने जानकारी पनि दिनुभयो । त्यसका लागि वडा–वडामा सुझाव संकलनका लागि जाने पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले पुस्तक लेखनका काम कात्तिकको दोस्रो साताबाट सुरु गर्ने महानगरको तयारी छ । काठमाडौँ महानगरपालिका भित्र सामुदायिक र संस्थागत विद्यालय ७ सय ५० रहेका छन् । त्यसैगरी बैठकले राष्ट्रिय शिक्षा दिवस मनाउने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार १६:३९