१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

संसदीय समितिले दिएकाे निर्देशन सरकारले पालन गर्नुपर्छः मन्त्री महासेठ


४ भदाै, काठमाडाैँ । राष्ट्रियसभाको बैठकले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले आजको बैठकमा सो विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । यसअघि बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विँडारीले समितिको वार्षिक प्रतिवेदन, २०७६ लाई बैठकमा पेश गर्नुभयो । प्रतिवेदन पेश गर्दै उहाँले संसदीय मूल्यमान्यताअनुसार संसद् र संसदीय समितिले दिएका निर्देशनलाई सरकारले पालन गर्नुपर्छ भन्नुभयो ।

सरकारी आश्वासन प्रभावकारी कार्यान्वयन नभएको, प्रत्यायोजित विधानलाई मन्त्रालयले पालन नगरेका, राष्ट्रिय महत्वका अभिलेख दस्तावेजको प्रभावकारी सुरक्षण गरेको नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक टेबल गर्नुभयो ।

ती विधेयकमा प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक र वातावरण संरक्षण विधेयक, २०७६ रहेका छन् । राष्ट्रियसभाको अर्काे बैठक भोलि भदौ ५ गते बिहीबार बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार १५:११