१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

भीडतन्त्रले होइन, न्यायालयले न्यायको निरुपण गर्छः सांसद मल्ल


४ भदाै, काठमाडाैँ । यसैगरी बैठकको विशेष समयमा सांसद कालीबहादुर मल्लले समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको लक्ष्यलाई सबैले साथ र सहयोग दिन आग्रह गर्दै समाजिक सञ्जालले कसैलाई दोषी र निर्दाेष प्रमाणित गर्न सक्दैन भन्नुभयो । उहाँले भन्नुभयो, “भीडतन्त्रले न्याय निरुपण गर्ने होइन, न्यायालयले न्यायको निरुपण गर्छ । संविधानको रक्षा सबैले गर्नुपर्छ ।

सांसद सुमनराज प्याकुरेलले नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय भेटघाट तथा छलफल हुँदा कोशी सम्झौताका बारेमा कुराकानी गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “भारतले कोशी सम्झौता कार्यान्वयन नगर्दा नेपाललाई असर परेको छ । अहिले सप्तरी, उदयपुरवासी रिले अनशनमा छन् । अनशनरत जनताको माग सम्बोधन हुनुपर्छ ।”सांसद मुक्ताकुमारी यादवले देशमा आत्महत्याका प्रवृत्ति किन बढिरहेको छ, यसतर्फ अध्ययन गरी तत्काल समस्यालाई सम्बोधन गर्ने कार्यक्रम ल्याउन सरकारसंग माग गर्नुभयो ।

सांसद कोमल ओलीले नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय बैठकमा जलस्रोत सम्झौता कार्यान्वयनका विषयमा नेपालले भारतसित कुराकानी गर्न सुझाव दिनुभयो । सांसद तारादेवी भट्टले युवाहरुलाई स्वदेशभित्र नै रोजगारीको व्यवस्था मिलाउन माग गर्नुभयो । सांसद रामप्रीत पासवानले प्रक्रिया पुगेका नागरिकलाई नागरिकता दिनुपर्छ भन्नुभयो ।

सांसद खिमकुमार विक र रामनारायण विँडारीले सञ्चारकर्मी रवि लामिछानेको छानबिनमा बाधा पु¥याउनेलाई कारवाही गर्नुपर्छ भन्नुभयो । सांसद रमेशप्रसाद यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र सांसद प्रकाश पन्तले अपाङ्गता भएका व्यक्तिको शिक्षक कोटामा अन्य व्यक्तिलाई नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार १४:२२