४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

आर्थिक उन्नती र विकासका लागि अमिल्दा कानुनहरु चाँडै नै संसोधन गर्छौंः प्रधानमन्त्री ओली


२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताउनुभएको छ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक संघर्षको युग सकिएर आर्थिक उन्नती र विकासको युग सुरु भएको बताउनुभएको छ ।

“अब हामी हाम्रो यात्रा आर्थिक उन्नती र विकासबाट सुरु गर्छौं । यसका लागि अन्तर्राष्ट्रिय जगतसँग पनि सहकार्य गर्छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो सहकार्यका लागि कतिपय अमिल्दा कानुनहरु संसोधन गर्छौं । प्रधानमन्त्री ओलीले नेपाल भौगोलिक रुपमा मात्र नभइ विविध क्षेत्रमा विविधता भएको देश भएकोले यहाँ द्रुत विकासको सम्भावना रहेको बताउनुभएको छ । विश्वकै आकर्षक मध्येको एकसिंगे गैंडा नेपालमा मात्र पाइने प्रधानमन्त्री ओलीले स्मरण गराउनुभएको छ । “यो राइनो हैन गैंडा हो गैंडा” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसको मौलिक नाम नबिगारौं । यो राइनो होइन ।

”नेपालमा विश्वको अग्लो हिमाल सगरमाथा मात्र होइन विश्वका अग्ला हिमाल मध्ये धेरै वटा नेपालमै रहेको बताउनुभएको छ । नेपाललाई विश्व मै सुन्दर देश भनिने गरकोे तर यसले मात्र नेपालको परिचय अपुरो हुने प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपाल सुन्दर मात्र होइन,प्राकृतिक स्रोतले पनि भरिपूर्ण देश हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “यिनै स्रोतको उपयोग गरेर नेपालको विकासलाई तिव्रगतिमा अघि बढाउनु पर्दछ ।

प्राकृतिक सम्पदा, हिमाल र जंगली जनावर हेर्न बर्षेनी लाखौं पर्यटन आउने भएकोले नेपालको ‘कनेक्टिभिटी’ विश्वभरी हुनु पर्ने प्रधानमन्त्री ओलीको धारणा छ । “हामी नेपाललाई सुरक्षित गन्तव्यका रुपमा पहिचान गराउन चाहन्छौं । यसका लागि हाम्रो नीति र प्रयासहरु केन्द्रित हुनेछन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार १६:२७