८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

महिलामाथि हुने हिंसा न्यूनीकरणमा सबै लाग्नुपर्छः मन्त्री थापा


१ भदौ, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला तथा बालबालिकामाथि समाजमा हुने हिंसा न्यूनीकरणमा सबै लाग्नुपर्र्ने बताउनुभएको छ । नयाँ बसपार्क क्षेत्रमा पाँच वर्षदेखि महिला हक अधिकारको क्षेत्रमा काम गर्दै आएको ‘महिला उपकार समाज सुधार मञ्च’को पाँचौँ साधारणसभाको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले बसपार्क क्षेत्रमा महिला तथा बालबालिकामाथि हिंसा बढी हुने भएकाले यसलाई रोक्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

“मुलुकको ७७ वटै जिल्लाका नागरिक जमघट हुने क्षेत्र बसपार्क हो, यस क्षेत्रमा विभिन्न बहानामा महिला तथा बालबालिकामाथि हिंसा भइरहेको छ, यसलाई रोक्न महिला नै जागरुक हुनुपर्छ”, मन्त्री थापाले भन्नुभयो । उहाँले गरीबी, बेरोजगारी र अशिक्षाका कारण महिला यौन व्यवसायमा लाग्न बाध्य हुनु परेको र यसलाई रोक्न सरकारले विशेष कार्यक्रम अगाडि सारेको बताउनुभयो । सरकारले महिला हिंसाविरुद्धको अभियानका रुपमा यो वर्षलाई मनाउन लागेको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्कलाई नमूना बसपार्क बनाउन महानगरपालिका लागिपरेको बताउनुभयो । उहाँले महिलाको क्षमता विकास र उनीहरुको समस्या समाधानका लागि वडामा आएर छलफल र सल्लाह गर्न सबैलाई आग्रह गर्नुभयो । टोखा नगरपालिका–९ का वडाध्यक्ष जोगप्रसाद नेपालले नागरिकको सोचाइमा परिवर्तन नभएसम्म महिला तथा बालबालिकामाथि हुने हिंसा रोक्न नसकिने बताउनुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सबैले सकारात्मक सोच राखे मात्र बसपार्क क्षेत्रभित्र हुने विकृति–विसङ्गतिको अन्त्य हुने बताउनुभयो । जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष शैलेश कार्की, काठमाडौँ होटेल व्यवसायी सङ्घका अध्यक्ष पदम लिम्बू, नेपाल होटेल व्यवसायी सङ्घका अध्यक्ष दीपेन सुवेदी, महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख फणीन्द्र प्रसाईं लगायतले बसपार्कभित्र देखिएका विकृति अन्त्य गर्न व्यवसायी नै लाग्नुपर्नेमा जोड दिनुभयो । विसं २०७२ भदौ २७ गते स्थापना भएको मञ्चले बसपार्कभित्रका विकृति अन्त्य गर्नाका साथै महिला हकहितका लागि काम गर्दै आएको अध्यक्ष लक्ष्मी भण्डारी ओलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार २०:०८