१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सालिकराम आत्महत्या प्रकरणः प्रहरीमाथि ढुंगा हान्ने रबि लामिछानेका ५ समर्थक पक्राउ


३२ साउन, काठमाडौँ । नुवाकोटका पत्रकार सालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने समातिएपछि चितवनमा भएको प्रदर्शनका क्रममा आज प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

उच्छृङ्खलता प्रदर्शन गरी प्रहरीमाथि ढुंगा हानेको आरोपमा ५ जनालाई पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । उनीहरुलाई कानूनअनुसार कारवाही हुने बताउँदै कोइरालाले प्रदर्शनले अनुसन्धानलाई कुनै फरक नपार्ने बताउनुभयो ।

यसअघि शुक्रबार पनि चितवनमा प्रदर्शन भएको थियो । माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

घटना हुनुअघि उनले न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालन रवि लामिछाने, सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र ओखल्ढुङ्गाकी रुकु भन्ने अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पुर्याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो सार्वजनिक भएको थियो ।

उक्त भिडियोका आधारमा प्रहरीले अनुसन्धानका लागि उनीहरुलाई बिहीबार काठमाडौँबाट पक्राउ गरी चितवन लगेको थियो । उनीहरुलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेकामा अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार २१:३४