१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पत्रकार रवि लामिछाने कानूनभन्दा माथि हाेइनन् : मन्त्री ज्ञवाली


३२ साउन, गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने कानूनभन्दा माथि नभएको बताउँदै निर्दाेष भए कसैलाई नफसाइने स्पष्ट पारेका छन् । शनिवार नेपाल पत्रकार महासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले लामिछानेलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको बताए ।

‘मरेको मानिसले कसैले आत्महत्या गर्न बाध्य पारेको भनेपछि सोधपुछका लागि प्रहरीले लगेको हो,’ मन्त्री ज्ञवालीले भने, ‘कानूनभन्दा माथि रविजी पक्कै हुनुहुन्न, सोधपुछ हुँदैछ, निर्दोष भए फसाउने कुरै हुन्न । दोषी ठहरिए कानून अनुसार कारवाही हुन्छ ।’

उनले पत्रकार रवि लामिछाने लगायतले आत्महत्या गर्न बाध्य पारेको भनि लगाएको आरोपबारेको भिडियो शंकास्पद रहेको समेत बताए । ‘त्यो भिडियो आफैंमा विरोधाभाष छ, मैले पनि हेरेको छु, एकआपसमा बाँझिएको छ,’ उनले भने ।

मन्त्री ज्ञवालीले बालुवाटारको जग्गा खोजी गर्ने काम सरकारले गरेको स्पष्ट पारेका छन् । अख्तियारले अनुसन्धान गरिरहेको भन्दै मन्त्री ज्ञवालीले दोषी जो भएपनि कारवाही हुने प्रतिवद्धता जनाए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले हिंसा भड्काएर नांगो रुप देखाएको मन्त्री ज्ञवालीले आरोप लगाए । ‘हामी विप्लव समूहको हिंसालाई नांगो रुप भन्छौं, नख्खुमा एनसेलको टावर विस्फोट गराउँदा निर्दोष बटुवाको ज्यान लिइयो,’ उनले भने, ‘काठमाडौमै ग्याँस सिलिन्डर विस्फोट भएर आफ्नै ५ जना कार्यकर्ताको ज्यान गयो, कैलालीमा पनि बम बोकेका आफ्नै कार्यकर्ता मारिए त्यसरी जनताका छोराछोरीको ज्यान लिन पाइन्छ ?’

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार १८:४०