१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नेकपा सचिवालय बैठक आइतबारकाे लागि सर्याे


३२ साउन, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि आइतबारका लागि सारिएको छ । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार एकताका बाँकी कार्य पूरा गर्नका लागि थप छलफल गर्नुपर्ने भएकोले बैठक सारिएको बताउनुभयो ।

बैठक आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । यसअघि शुक्रबार ३२ केन्द्रीय विभागको जिम्मेवारी तोक्दै एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाको केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन, जनवर्गीय सङ्गठनका इञ्चार्ज र सहइञ्चार्ज निर्धारणको काम बाँकी छ । सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास सङ्गठनको एकता बाँकी रहेको छ ।

यसैगरी ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनलगायतका काम बाँकी छन् । अहिलेसम्म सचिवालय, स्थायी कमिटी, प्रदेश कमिटी, प्रदेश इञ्चार्ज, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज, जनसङ्गठनका संयोजक र सहसंयोजक तथा जिल्ला र स्थानीय तह कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीको टुङ्गो लागेको छ । अधिकांश जिल्ला र स्थानीय तहका कमिटीले पूर्णता पाइसकेका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भए पनि सबै कमिटीको एकता अझै सकिएको छैन ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार १८:०२