१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

टाट पल्टियो टान, कोष गरिब कि नेतृत्व हरिप ?


६ बैशाख, काठमाडौँ । ट्रेकिङ एजेन्सी एसोसियन अफ नेपाल (टान) टाट पल्टिएको छ । टानका पूर्व पदाधिकारीले टिम्सको रकम दुरुपयोग गरेपछि ओरालो लागेको टान आजका दिन टाट पल्टिए सरह भएको छ । पर्यटक सूचना व्यवस्थापन प्रणालीबाट उठको रकम हिनामिना भएपछि पछिल्लो केही वर्षयता टानले उक्त रकम पाउन सकेको छैन । टानकाे अाम्दानीको स्रोत खुम्चिएसँगै टानले  तिर्न बाँकी रकम पनि बढ्दै गएको छ ।

टानको कर्यकारी समितिका सदस्यहरू ।

टिम्सको कुल रकमको ३० प्रतिशत प्रशासनिक, घरभाडा, भैपरी उद्धार, प्रवद्र्धनलगायतमा खर्च गर्ने गरी टानले पाउने, ३० प्रतिशत पर्यटन बोर्डले, थप ३० प्रतिशत टान र बोर्डको संयुक्त खातामा र १० प्रतिशत मजदुर कल्याणकारी कोषमा रहने गरी ०७१ चैत ५ गते सम्झौता भएको थियो । टानसँग ०६६, ०६९, ०७० र ०७१ सालमा गरी चारपटक सम्झौता भएको छ । तर पछिल्लो चार वर्षदेखि टानले टिम्सको रकम पाउन सकेको छैन । पूर्व पदाधिकारीले भ्रष्टाचार गरेपछि अहिले भने टानका पुराना फाइल नियन्त्रणमा लिएर अख्तियार दुरुपयोग अनुसन्धन आयोगले छानविन गरिरहेको छ ।

नेपाल पर्यटन बोर्डले पटक पटकको अाग्रहलार्इ वेवास्ता गरेर टिम्सको रकम रोकेको भन्दै बोर्डका पदाधिकारी अाक्रोशित भएका छन । समस्या सुल्झाउन बोर्डका प्रमुख कार्यकारी अधिकृतले छलफल गरे पनि निर्णय गर्ने क्षमता कमजोर हुँदा केही हुन नसकेको टानका सदस्यले अारोप लगाएका छन ।

कर्मचारीले तलब पाएनन्
केही महिनादेखि कर्मचारीले समयमा तलब पाउन सकेका छैनन् । मालपोत कार्यालयका जस्ता प्रवृतिका कर्मचारी धेरै भएको टानमा तलब समयमा नपाएको भन्दै उनीहरुले टानका पदाधिकारीले निर्देशन दिएका काम गर्न समेत जाँगर मारेका छन । यसै त काम गर्न भन्दा कुरा गरेर समय कटाउन इच्छुक कर्मचारी झन समयमा तलब नपाएपछि थप आक्रोशित बनेका छन । यद्यपी टानमा आवश्यकता भन्दा बढी कर्मचारी भएको र भएका पनि काम गर्ने नभएकाले कर्मचारीको पुनसंरचना गर्नुपर्ने विषय टानको बोर्डमा उठेको एक जना सदस्यले दैनिकीलाई जानकारी दिएका छन ।

उधारो पुरस्कार
टानले अक्टोबर २९ मा आफ्नो संस्थाको प्रचार प्रसारमा सहयोग पु¥याउने केही पत्रकारलाई नगदसहित सम्मान गरेको घोषणा गरेको थियो । सम्मानित पत्रकारले पाँच महिना पूरा हुँदा पनि नगद हात पार्न सकेका छैनन् । टानका एक जना सदस्यका अनुसार केही पत्रकार दिनहुँ जसो टान धाउने गरेका छन । तर उनीहरुले पुरस्कारको रकम पाउनेमा विस्तारै आशा मार्न थालेका छन ।

टानको पुरस्कार ग्रहण गर्दै पत्रकार शिव श्रेष्ठ ।

केही बाहेकले टान धाउन छाडेका छन । टानले उधारो पुरस्कार दिएको थापा पाएपछि टानका मिडिया कोअर्डिनेटर गोपाल श्रेष्ठसँग दैनिकीले जिज्ञासा राख्दा केही समयमै पुरस्कारको व्यवस्थापन गर्ने बताए । उनले पुरस्कृत धेरै भएको र रकम पनि धेरै भएकाले व्यवस्थापनमा समस्या भएको भन्दै स्रोत जुटाएर पत्रकारलाई नगद दिने बताए । टानले पत्रकार भरतबन्धु थापा, कुमार चौलागाई, अर्जुन तामाङ, शिव श्रेष्ठ, प्रकाश खालिङ, खिलक बुढाथोकी, फोटो पत्रकार जनार्दन अर्याल लगायतलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहीबार १९:४०