११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने समाजवादी पार्टीका नेता उमेश यादव पक्राउ


२९ साउन, विराटनगर । मादक पदार्थ सेवन गरी ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेको आरोपमा समाजवादी पार्टीका नेता उमेश यादवलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति विराटनगर रोडशेष चोकमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएको पाएपछि प्रहरीले यादवलाई रोकेको थियो । मोटरसाइकल रोकेपछि यादवले प्रहरी जवान श्यामकुमार चौधरीमाथि हातपात गरेका थिए ।

ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट भएपछि प्रहरीले पछाडि बसेका यादव र मोटरसाइकल चालकलाई पनि पक्राउ गरेको थियो । मोटरसाइकल चालक बुधबार बिहान छुटेका छन् । पक्राउ परेका यादवमाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिइजुले जानकारी दिए ।

यादव स्थानीय तहको चुनावमा संघीय समाजवादी फोरम र तत्कालिन माओवादी गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका व्यक्ति हुन् । उनी तत्कालिन संघीय समाजवादी फोरमको मोरङ जिल्लाको पूर्वअध्यक्ष पनि हुन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार २१:४६