१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

रुप र रंग बिनाको कान्छी (फिल्मी समिक्षा)


–समीर बलामी 

स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठले निर्माण गरेको फिल्म कहाँ भेटिएलाबाट नेपाली रजटपटमा आएकी नायिका हुन् स्वेता खड्का । पहिलो फिल्मबाट सफलता हात परेपछि, स्वेता दोश्रो फिल्ममा देखिने निश्चित थियो । तर दोश्रो फिल्म आउन नपाउँदै स्वेताको स्वर्गिय श्रीकृष्णसँग लगनगाँठो कसियो । त्यसपछि फिल्म कोहिनुरमा यी दुई पुनः जोडीको रुपमा देखिए । फिल्म रिलिजकै ताका स्वर्गिय श्रीकृष्ण श्रेष्ठको असमायिक निधनले फिल्म क्षेत्रलाईनै दुखी बनायो र अपुरणीय क्षति तुल्यायो । यसैको पिडामा नायिका स्वेता खड्का परिन् । फिल्म कोहिनुर व्यवासायिक रुपमा निकै नै हिट भयो । स्वेता श्रीकृष्ण वीनाको जीवनमा सधै दुखी नै रहिरहे । नेपाली फिल्मकर्मी र मिडियाकर्मीको बीचमा स्वेता ३÷४ बर्ष पछि विस्तारै खुल्दै आएकी हुन् । स्वेतालाई फेरि पर्दामा देखिने रहर कति दर्शकलाई पक्कै थियो । त्यहि बीचमा ४ बर्ष पछि स्वेता फिल्म कान्छी मार्फत फर्किएकी हुन् । स्वर्गिय श्रीकृष्णकै सम्झनामा उनी बेला बेला भावविह्वल हुने गर्छिन् । उनी प्रति सबैको सहानुभुती र माया रहनु स्वभाविकै हो । तर सधै यहि कुरालाई अग्रपंक्तिमा ल्याउनु भने उचित हुदैन ।

कान्छी पूर्ण नेपालीपनको नाम हो । हामी मान्छेमा राम्रो कान्छी खोज्छौं भने पक्कै पनि रुप र रंग दुबै भएकी नै खोज्छौं । मान्छेमा रुप भनेको उनको शारिरीक चित्रण र राम्री, सुन्दरी बनावट बुझ्छौं । रंग भनेको उनको सकरात्मक सोच अनि राम्रो व्यवाहार (३२ लक्षिणकी) भने बुझ्छौं । यसरी रुप र रंग नभएकी कान्छी, राम्री कान्छी हुन सक्दैन । केवल नाम मात्रको कान्छी भने बुझिन्छ । यस्तै भएको छ फिल्म कान्छी पनि । फिल्म कान्छीमा रुप भनेजस्तै न प्रस्तुती राम्रो छ न त लभस्टोरी पक्ष नै बलियो छ । रंग भने जस्तै कान्छीमा न कथा, पटकथा राम्रो छ न त निर्देशकीय पाटो नै बलियो छ । यसर्थ फिल्म कान्छी रुप र रंग वीनाको कान्छी बनेको छ । चार बर्ष पछि पर्दामा फर्किएकी स्वेताले राम्रो कथा र कथासँग मिल्दो पात्र चयन गर्न नसक्नु ठूलो गलत सावित भएको छ । आफुप्रति सबैको सहानुभुती छ भने सम्झेर जे फिल्म बनाउँदा पनि चल्छ भनेर सम्झनु र निर्देशकले पनि हसमा हैँसे थपेझै कथामा कुनै मेहनत नगर्नुले त्यो प्रमाणित गर्दछ । कलाकारको कारणले गर्दा भन्दा पनि कथा, पटकथा कमजोर र अस्वभाविक निर्देशकीय पाटोले कान्छीलाई कमजोर बनाएको हो ।

पित्तललाई बाहिरबाट सुनले जतिनै लेपन गरेपनि त्यो सुन बन्दैन । विस्तारै लेपन हराउँदै गएपछि पित्तल नै देखिने हो । त्यसलाई जानी जानी सुन बन्न मिल्दैन । यस्तै हो फिल्म कान्छी पनि । पुरानै कथा अनि पुरानै तरिकाको प्रस्तुती । त्यसलाई नयाँ तरिकाले खिच्ने र पात्र पविर्तन गर्दैमा नयाँ हुदैन । र त्यसलाई राम्रो फिल्म मान्न सकिदैन । फिल्ममा सिनेमाटोग्राफर, एक्शन डाईरेक्टर, गीत संगीतको पक्ष ठिकै लाग्छ । तर फिल्मको कथा, पटकथा र निर्देशकीय पाटोले दर्शकलाई अल्छि बनाउँछ । फिल्म कान्छीको जस्तै कथामा १० बर्ष अगाडीदेखी फिल्म बन्दै आईरहेको छ । ती फिल्महरु भन्दा कान्छी कुनै आधारमा माथी छैन । अहिलेको समयमा धनी गरिब, जात र धर्मको कथालाई स्वेता खड्काले रोज्नु नै मूख्यत गलत हो । एउटी केटीले एउटा केटालाई मन पराउनु, परिवारको कारणले त्यो केटालाई छोडेर अर्कैलाई बाध्यताले मन पराउनु र विहे गर्नु यी दुई बीचको सम्बन्धमा गुण्डा देखिनु नेपाली फिल्मको लागि कुनै नौलो होईन । नायिकाको लोग्नेलाई मारिसकेपछि उनलाई मन पराउने केटाले स्विकार्नु र अन्तमा उनको बच्चालाई केटाले बाउको अधिकार दिनु पुरानै फिल्मको कथा हो ।

कान्छीले नेपाली फिल्म क्षेत्रमा कुनै टेवा दिन सक्दैन । न त दर्शकको चाहना नै पुरा गर्न सक्छ । अझ लभस्टोरी भनिएको फिल्ममा सतहको लभस्टोरी देखाईएको छ, जुन गहिराईमा पुग्नै सक्दैन । फिल्म शुरु भएको आधा सम्म न त फिल्मको विषयवस्तु स्थापित हुन्छ न एक अर्काको मायालाई गहिराईमा पुराउन सकिएको छ । कथा लेख्ने मान्छेले फिल्मको मर्म बुझेको देखिदैन । न त निर्देशकले त्यसलाई संयोजन र प्रस्तुत गर्न सकेको छ । फिल्म कमजोर बन्नुमा कथा लेख्ने यम थापा र निर्देशक आकाश अधिकारीको मूख्य कारण देखिन्छ । गीत संगीत सुन्दा राम्रो लाग्छ तर फिल्म भित्र केही गीतको न आवश्यकता छ, न त त्यसको सिनसँग कुनै सम्बन्ध रहन्छ । फिल्ममा केही ठाउँमा लाउड देखिएका कामेश्वरको अभिनय ठिकै लाग्छ । दयाहाङ राईलाई कान्छिमा हेरिरहँदा कतै वीर विक्रमको झझल्को दिन्छ । स्वेतालाई कान्छीको पात्र कुनै हालतमा सुहाएको देखिदैन । न त उनीसँग प्रज्वल सुजल गिरीको जोडी राम्रो देखिएको छ । पर्दामा यी जोडीलाई जेठी दिदी र कान्छा भाईको रुपमा देखिन्छ, र त दर्शक गलल हाँस्छन् हलमा । यस कारण फिल्म कान्छी पूर्ण रुपमा कमजोर फिल्म हो । स्वेताप्रति सहानुभुती राख्नेहरु र दयाहाङ राईको फ्यानहरुको लागि फिल्म राम्रै हुन सक्ला तर आम दर्शकको लागि फिल्म कान्छी बेकार लाग्छ । कतिपय दर्शक त मध्यान्तर सम्म टिक्नै गाह्रो छ ।

गाउँको संस्कार र मर्यादामा हुर्केकी जिम्बल बा (निर शाह) की छोरी मुना थापा उर्फ कान्छी(स्वेता खड्का) र उनका साथिहरु हिरा(दयाहाङ राई), विजुली उर्फ करेन्टे(कामेश्वर चौरासिया), हर्के उर्फ हर्क बहादुर परियार(अशान्त शर्मा), मिना(अनु शाह) र छायाँ(भुमिका श्रेष्ठ) मिलेर अस्पताल सञ्चालनको लागि नाटकको तयारी र नाटक मञ्चन गरि पैसा जुटाउने काममा लाग्छन् । नाटक मञ्चनको क्रममा हिराले एकोहोरो कान्छीलाई मन पराउनु र कान्छीलाई आफ्नो कुरा फिल्म भित्रको नाटक र फिल्ममा राख्न नसक्ुन कथाको शुरुवाट हो । विस्तारै हिराले कान्छीलाई मन पराउँदै जानु र कान्छी हिराप्रति आकर्षित हुदै गएपछि कान्छीलाई मन पराउने कुले (विनोद न्यौपाने) कतारबाट फर्किन्छ । नाटक मञ्चनसँगै विस्तारै एक अर्कालाई मन पराउन थालेको हिरा र कान्छीको माया बस्न नपाउँदै कान्छी आफ्नो बाउको बाध्यतामा पर्छ । अमेरिकाको डलरवाला केटालाई आफ्नो ज्वाई बनाउने सपना बोकेका जिम्बल बा, छोरी प्रति पूर्ण विश्वस्त हुन्छ । अस्पतालमा डाक्टको खाँचो भएपछि डाक्टर बोलाउने काम हुन्छ र चाँजोबाँजो सहित डाक्टर विवेक शाह(प्रज्वल सुजल गिरी) लाई गाउँले सबै मिलेर स्वागत गर्छ । बाउको बाध्यताले हिरालाई अपनाउन नसकेको कान्छीले एकै पटक भेटेको डाक्टर विवेकसँग नजिक हुनु र घरमा एक छाँक खाना खाएकै भरमा डाक्टर विवेक शाहले कान्छीलाई मायाको प्रस्ताव गर्नु अस्वभाविक लाग्छ । हिरालाई औधी माया गर्ने कान्छीले आफ्नो मनमा कोही नभएको भन्दै विवेक सँग हिरालाई देखाउन देखावटी माया गर्नु फिल्मको मर्मको रुपमा प्रस्तुत भएको छ । कान्छी कसको हुन्छ ? हिरा या विवेक, यहि सरोफेरोमा कान्छी फिल्म घुमेको छ ।

बेला बखतमा छायाँ र बिुलीको प्रेम फिल्ममा दर्शन्छ तर हर्के र मिनाको प्रेम नदेख्दै बिहेबाट हर्केले मीनालाई उठाउनु अस्वभाविक लाग्छ । बाउको संस्कार र मर्यादामा बसेकी कान्छी एकै दिन विवेक सँग घुम्दैमा शारिरीक सम्बन्ध राख्नुपर्ने केही कारण देखिदैन । त्यसमाथि कान्छीले बाउलाई संस्कार र मर्यादामा आँच नआउने कसम खाएको हुन्छ । यस्तो कसम खाएको कान्छीले विवेक र हिरालाई माया गर्नुमा के फरक पर्छ ? केही कारण छैन । बाउको मर्याद र संस्कार बिर्सने हो भने हिरासँग माया नगरी विवेकसँग गर्ने किन ? दुबै बाउको चाहना हैन तर पनि कारण खुलेको छैन । विवेक काठमाडौं हिड्न लागेपछि हिराले कान्छीलाई विहे गरेर मात्र जाने वातावरण बनाउँनु र कान्छीको पेटमा बच्चा छ भनेर हिरालाई थाहा भएजस्तो हुनु अस्वभाविक छ । यति मात्र हैन डक्टरको तामझाम सहित स्वागत गर्नु तर डक्टरसँगको कनेक्शन नदेखाउनु, बीचमा नाटक र अस्पतालको कुनै समबन्ध नदेखाउनु जस्ता थुप्रै अस्वभाविक सिनहरु छन् । स्याउ बारीमा हिराले बाउलाई बोक्नु, बुम रेमिटको अनावश्यक विज्ञापन गर्नु, प्रसुतीगृहमा रहेकी कान्छीलाई प्रस्तुती गराईरहेको अवस्थामा हिराले बोलाउन जानु, अस्पतालमा कान्छीलाई हिराले मन पराउछु भने कुरा हिराको बाउलाई थाहा हुनु, सिउँदोमा सिन्दुर लगाएरै बाउसँगै घरमा कान्छी बस्नु, आफुले धेरै माया गरेको कान्छी मध्य रातमा ओछ्यानबाट हराउँदा घर आँगनमा हेरेर लौ हराएछ/गएछ भनेजस्तै गरेर हिरा बस्नु, गाडी खसेको भिएफएक्स लगायत पूर्ण फिल्मको आधा भन्दा बढि सिनहरु अस्वभाविक लाग्छ । ३५ भन्दा बढि अस्भाविक सिनहरुले फिल्मलाई फिल्म जस्तो बनाएको छैन । यस्ता सिनहरुलाई स्वभाविक बनाउँदै ट्रयाकमा ल्याउने काम समेत निर्देशकले गर्न सकेको छैन ।

कथाको परिवेश अनुसार निर्माताले खर्च गरिएको देखिन्छ । पुरुषोत्तम प्रधानले क्यामरामा मेहनत गरेको देखिन्छ । नाच्नै नजानेका दयाहाङले नाच्न कोशिश गरेका छन् । रेनिश फागोको कलर ट्युन राम्रो छ । हिमाल केसीको एक्शन पनि राम्रै लाग्छ । कामेश्वर चौरासिया, विनोद न्यौपाने र फिल्ममा दामी दाई दामी संवाद बोल्ने पात्रको काम प्रंशसनीय नै छ । तर कथा लेखक र निर्देशकको कारण यी सबै पक्ष ओझेलमा परेको छ । आकाश अधिकारीले आफ्नो निर्देशकीय कौशलता कान्छीमा देखाउन सकेको छैन । अन्तत बच्चालाई एडप्ट गर्ने हो भने समलिङ्गीको पनि नेपालमा बिहे सम्भव छ भने कुरा देखाउन खोजिएको छ ।

फिल्म : कान्छी
निर्देशक :आकाश अधिकारी
निर्माता :स्वेता खड्का
कलाकारहरु :दयाहाङ राई, स्वेता खड्का, प्रज्वल सुजल गिरी, विनोद न्यौपाने आदि
रेटिङ : १/५ (पाँचमा एक तारा)

फिल्मी फण्डासँगको सहकार्य ।

http://filmyfanda.com/kanchhifilmreview/

प्रकाशित मिति : ७ फाल्गुन २०७४, सोमबार १०:४४