१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भ्रष्टाचारकाे आरोप लागेका मालपोतका पूर्वनासुले सुसाइड नोटमा अख्तियार प्रमुखको नाम लेखेर गरे आत्महत्या


२७ साउन, काठमाडौँ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको घटनामा दोषी देखिएका मालपोत कार्यालय, कलंकीका पूर्वनायब सुब्बा हरिप्रसाद आचार्यले आत्महत्या गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले उनीसहित ७ जनाविरुद्ध ३ जेठमा भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएपछि स्वेच्छिक अवकाश लिएका आचार्यले शनिबार राति आत्महत्या गरेका हुन् ।


आचार्यलाई घरबाट एक किलोमिटिरको दूरीमा रहेको शिखरखुट्टे जंगलमा झुण्डिएको अवस्थामा भेटिएको थिए । सखुवाको रुखमा प्लास्टिकको डोरीमा झुण्डिएकाे अवस्थामा  उनकाे शव भेटिएकाे थियाे ।

आचार्यले सुसाइड नोटमा यस्ताे लेखेका थिएः

’आचार्यले सुसाइड नोटमा भनेका छन्, ‘सतीले सपारेको देश रहेछ, मैले दुई पैसा पनि खाएको छैन । तर, म देशको ठूलो भ्रष्टाचारी भए, अख्तियार प्रमुख नवीनकुमार घिमिरेको आयु २ सय वर्ष होस्, म जस्तो निर्दोषलाई विशेष अदातलमा मुद्दा छ ।’

प्रहरीका अनुसार, नोटमा उनले परिवारका सदस्यलाई पनि विभिन्न किसिमका निर्देशन दिएका छन् । श्रीमतीलाई उनले कान्छो छोरासँगै काठमाडौँमा बस्न भनेका छन् भने आफ्नो नाममा पुराण नलगाउन पनि भनेका छन् ।

उनले भैंसी र खसी जतिमा बिक्री हुन्छ, बेचेर सहयोग गरिदिन पनि आफन्तलाई आग्रह गरेका छन् । सुसाइड नोटमा उनले बैंकमा खासै पैसा नभएको पनि बताएका छन् । ‘वाणिज्य, नेपाल, एनसीसी, एनआईसीलगायतमा के कति पैसा छ, मैले चेक दराजमा राखेको छु’, उनले लेखेका छन् ।

उनले छोरालाई स्नातक पढाउन नसकेकोमा पछुतो लागेको पनि उल्लेख गरेका छन् । साथै, संगठनका साथीहरुले आफूलाई बुझ्ने पनि बताएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार १३:४६