१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

लुम्बिनी विकास कोषको बैठक सम्पन्न


२४ साउन, लुम्बिनी । लुम्बिनी विकास कोषको बोर्ड बैठक सम्पन्न भएको छ । कोषका अध्यक्षसमेत रहनुभएका नवनियुक्त पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा लुम्बिनीमै बसेको बैठकमा विभिन्न प्रस्तावमाथि छलफल भएको कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले बताउनुभयो । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश सरकारका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री लीला गिरीसमेत आमन्त्रित सदस्यको रुपमा उपस्थित रहेनुभएको उक्त बैठकले लुम्बिनी गुरुयोजनाको काम ८२ प्रतिशत पूरा भइसकेको आकलन गरेको छ ।

बैठकमा प्रा केञ्जो टाङ्गेको गुरुयोजना, लुम्बिनी क्षेत्रमा भएका उत्खनन कार्यलाई प्रभावकारी र विश्वसनीय बनाउने, वृहत्तर लुम्बिनी क्षेत्रको विकास गर्ने, लुम्बिनीमा पर्यटकको बसाइँ लम्बाउनेलगायतका प्रस्तावमाथि छलफल भएको निमित्त सदस्यसचिव भट्टराईले बताउनुभयो ।

मन्त्री भएपछि पहिलो बैठकमा सहभागी हुनुभएका कोषका अध्यक्ष समेत रहनुभएका भट्टराईले लुम्बिनीको विकासको लागि सबै पदाधिकारी तथा सदस्य एक भएर लाग्नुपर्ने बताउनुभयो । सो बैठकमा उहाँले सरकारले लुम्बिनीको विकासका लागि कुनै कसर बाँकी नराख्ने र त्यसको लागि प्रदेश सरकारसँग पनि आवश्यक सहकार्य गर्ने बताउनुभएको बैठकमा सहभागी सदस्यले बताए ।

बैठकमा वृहत्तर लुम्बिनी गुरुयोजनाको कामको लागि करीब दुई सय अर्ब रकम आवश्यकपर्ने र त्यसको व्यवस्थापनको विषयमा पनि छलफल भएको थियो । मन्त्री अध्यक्ष हुने कोषमा उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यसचिव पदाधिकारी र पाँचजना कार्यकारणी सदस्य रहने व्यवस्था छ । विगत दुई वर्षदेखि सदस्यसचिवको जिम्मेवारी पनि निमित्तको रुपमा योजना अधिकृतले नै हेर्दै आएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार १८:२६