Logo

टेलिभिजन पत्रकार शालिकराम पुडासैनी के प्रयोजनका लागि एक्लै गए रिपोर्टिङमा ?



-रमेश जम्कट्टेल
न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रमबाट नै पत्रकारिता शुरुवात गरेका शालिकराम पुडासैनी छोटो समयमा लोकप्रियता कमाउदै गरेका उदयमान पत्रकार थिए नै । अझै आफ्नो पत्रकारिताको करियर फराकिलो बनाउने उद्देश्यले उनी माउन्टेन टेलिभिजनमा झण्डै ४० दिनअघि जानु र टेलिभिजनको नै प्राथमिकतामा परेको मिसन न्यूजको सम्पूर्ण जिम्मेवारी पाउनु उनको लागि अवश्य नै अवसर र चुनौती दुबै थियो ।

शालिकराम र चुनौती
शालिग्राम न्यूज २४ टेलिभिजनमा कार्यरत रहदा गरेका धेरै स्टिङ अपरेशनले मुर्त रुप पाएको हामी दर्शक भएर देख्दा हेर्दापनि बुझिन्छ । एउटा व्यक्ति हिडेन क्यामेरा बोकेर सडक/व्यवसायिक क्षेत्र वा अन्य जनचासो रहने स्थानमा हिँडिरहदा गलत गर्नेहरुले तत्काल जानकारी पाउदैनन् जब जानकारी पाउछन् तब उनिहरुको निद हराममात्र होइन प्रतिशोधको भावना पनि उत्तिकै जाग्ने देखिन्छ । यसले गर्दा कहिलेकाही तिनको निशानामा परिदैन भनी कसरी विश्वस्त हुने ?

मिसन पत्रकारिता र एक्लो यात्रा
मिसन पत्रकारिता गर्नेहरु प्राय रिस्कमा हुन्छन् भन्ने विषयमा कसैको दुईमत नहोला । शालिकरामलाई पनि के प्रयोजनको लागि एक्लै पठाइयो भन्ने विषय पनि एक किसिमको बहश रहनसक्छ । उनले मुत्युको कारण पोष्टमार्टम र प्रहरी अनुसन्धानपछि आउला । घटनाको प्रकृति हेर्दा आत्महत्या नै हुनसक्ने बढी देखिन्छ । तरपनि विशेषत मिसन पत्रकारिता गर्नेहरु प्रायजसो कुनै न कुनै किसिमको तनाबमा रहन्छन् । कोही सम्झाउने व्यक्ति भइदिएको भए दुःखद् घटना नहुनेपनि थियो की !

मिसन न्यूज र मेरो अनुभव
हुन त इन्भेष्टिगेटिभ जर्नलिज्म गर्नेहरु सधै गलत गर्नेहरुको निगरानीमा नै परिरहन्छन् । पत्रिकाबाट टेलिभिजन पत्रकारिताको यात्रा र झण्डै ५ वर्ष माउन्टेन टेलिभिजनकै विशेष कार्यक्रम मिसन न्यूजमा रिपोर्टिङ हुदै संयोजकको समेत भुमिकामा बसेको समय याद गर्दा पनि उत्तिकै अवसर र चुनौती थियो । म माउन्टेनमा कार्यरत रहदा जुन मोबाइल चलाउथे हिजोसम्म सालिग्रामको अफिसियल नम्बरपनि त्यही थियो । त्यो समयमा आएका धम्की, घेरावन्दी र प्रलोभनमा म कतै विचलित भएको थिए भने आज कतै उनको हालत त्यहि भएर आफूलाई सम्हाल्न नसकेका हुन्थे कि ? सम्झदै छु ।

०७४ कात्तिकबाट म माउन्टेन टेलिभिजनबाट अलग भई लोकपथ अनलाइन न्यूज पोर्टल सञ्चालनमा ल्याएको छु । तर त्यहा रहदा मिसिन न्यूजमा काम गर्दाको अनुभवले मलाई निर्भिक बन्न सिकायो । हामीले काम गर्दाताका कार्यक्रमहरु टेलिभिजनमा प्रशारण हुन्थे तर युट्युबमा राख्ने खासै ट्रेण्ड नै थिएन । यातायात कार्यालय, मालपोत, नापी, म्यानपावर, वैदेशिक रोजगार विभाग आदी क्षेत्रका विभिन्न किसिमका विचौलियाहरुको विगविगी अहो ! यस्तै यस्तै चुनौतीमा चाङबाट भ्रष्टहरु जेल जाँदा, सेवाग्राहीले सहज रुपमा सेवा पाउँदा अझ न्याय नपाएर तड्पिरहेकाहरुलाई सहयोग गर्न पाउँदा सारा पीडाहरु आफै खुसी बनिदिन्थे । तर शालिग्रामको चितवन पुगि किन पत्रकारिता र आफुलाई सदाको लागि विलिन गरे कारण जे भएपनि अन्य व्यवसायिक पत्रकारिता गर्न खोज्नेको लागि शिक्षा अवश्य रहने छ ।

व्यवसायिक पत्रकारिता र आर्थिक अभाव
व्यवसायिक पत्रकारिता गर्नेहरुले साचो अर्थमा भन्ने हो भने कसैको एक कप चिया पनि खानुहुदैन । शालिग्रामपनि सायद त्यस्तै व्यवसायिकताको अभ्यास गर्दै थिए । तर हामीले आफ्नो व्यवसायिक कर्मलाई एकातर्फ राख्दा त फेरी हामीपनि कसैको छोरा, कसैको श्रीमान्, कसैको बुबा यस्तैयस्तै सम्बन्ध र जिम्मेवारीमा बाधिएका छौ । स्रोतको व्यवस्थापनको निम्ति कार्यालयले अतिरिक्त खर्च नदिने र दैनिक परिणामपनि खोज्ने हो भने दैनिक १ हजार त चिया खाजामा सामान्य रुपमा नै जान्छ । अनी परिवार व्यवस्थापनमा सहजता नहुदा आउने तनाब र त्यसपछिको वितृष्णाले कतै शालिग्राम पनि जीवनदेखी नै बिरक्तिएर मृत्यु रोजे की ?

अन्तमा,
मृत्यु, सधै दुखदायी हो, अझ अल्पायुको मृत्यु त झनै कल्पना बाहिरको कुरा हो । शालिग्रामको अत्पायुको यो मरणलाई लिएर मन भरंग भएको छ । अझ स्टिङ अपरेसन गर्ने एक व्यवसायिक पत्रकारले मुत्युलाई जुन रुपबाट रोजेको भएपनि शुक्ष्म अनुसन्धान जरुरी छ, घटनाको सत्यतथ्य बाहिर आउनैपर्छ । परिवारमा गहिरो समवेदना छ । अलबिदा शालिकराम…..

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलवार १९:४१
प्रतिक्रिया दिनुहोस्