१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

रेविजविरुद्ध भ्याक्सिन सेवा शुरु


१५ साउन, काभे्रपलाञ्चोक । नमोबुद्ध नगरपालिका–४ भकुण्डेस्थित मेथिनकोट अस्पतालमा छिमेकी जिल्लालाई समेत लक्षित गरी रेविज रोगविरुद्धको भ्याक्सिन सेवा शुरु गरिएको छ । जिल्लाको एक मात्र उक्त सरकारी अस्पतालबाट छिमेकी रोशी, महाभारत र तेमाल गाउँपालिका, पाँचखाल नगरपालिका तथा छिमेकी जिल्ला रामेछाप र सिन्धुलीका सेवाग्राहीलाई लाभ मिल्नेछ । अस्पतालमा २४सै घण्टा रेविज रोगविरुद्धको भ्याक्सिन सेवा उपलब्ध गराइएको वडाध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्लेले बताउनुभयो ।

“यो सेवाबाट यही जिल्लाका तीन स्थानीय तहका साथै छिमेकी जिल्ला सिन्धुली र रामेछापका बासिन्दा लाभान्वित हुनुहुनेछ”, उहाँले भन्नुभयो ।अस्पतालमा नगरपालिकाको सहयोगमा २४सै घण्टा स्वास्थ्य प्राविधिक राखिएको तथा विद्युत् अभावमा ७२ घण्टासम्म भ्याक्सिन सुरक्षित गर्ने फ्रिजको समेत व्यवस्था गरिएको काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार गुणस्तरीय सेवाका लागि थप स्वास्थ्य प्रविधिक राख्न सो सम्बन्धी तालीमको आयोजना गर्न लागिएको छ ।

नगरप्रमुख टङ्कप्रसाद शर्माले यस भेगका बासिन्दाले रेविजविरुद्धको भ्याक्सिनका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता टरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो मात्र नभई छिमेकी जिल्लासमेतलाई लक्षित गरी भ्याक्सिन सेवा राख्न सकिएकोमा खुशी छौँ । प्राथमिक स्वास्थ्यचौकीलाई विसं २०६६ मा स्तरोन्नति गरी १५ श्ययाको क्षमता रहेको अस्पतालको रूप दिइएको थियो । अस्पतालमा २४सै घण्टा अन्तरङ्ग–बहिरङ्ग सेवा, गर्भ जाँच तथा प्रसूति सेवा उपलब्ध गराइँदै आइएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म जिल्ला अस्पताल छैन ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार ११:१८