१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

रेबिजविरुद्धको खोप अभाव हुँदा सर्वसाधारण मर्कामा


१४ साउन, राझाँ । भेरी अस्पताल नेपालगञ्जमा रेबिजविरुद्ध खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । स्वास्थ्य सेवा विभागले सुई पठाउन ढिलाइ गरेकाले अभाव भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा रुपानन्द अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, साउनको शुरुआतदेखिनै अस्पतालमा रेबिजविरुद्धको खोप सकिएको हो । भेरी अस्पतालमा दैनिक १५ देखि २० जना कुकुरले टोकेका बिरामी आउने गर्दछन् ।

अस्पतालमा निःशुल्क उपलब्ध हुने रेबिजविरुद्धको सुई सकिएपछि निजी क्लिनिकमा महँगो शुल्कमा सुई लगाउनु पर्ने बाध्यता भएको छ । निजी क्लिनिकमा एउटा खोपको कम्तीमा रु ५०० पर्दछ । कुकुरले टोकेका बिरामीले चार वटा सुई लगाउनुपर्ने हुन्छ ।

राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरबाट रेबिजविरुद्धको सुई लगाउन भेरी अस्पताल आउनुभएका श्यामप्रसाद थारूले निजी मेडिकलमा पैसा तिरेर सुई लगाउनुपरेको बताउनुभयो । सुई बोक्ने एसीसहितको भ्यान बिग्रिएकाले पनि सुई ल्याउन ढिलाइ भएको उल्लेख गर्दै अस्पतालका प्रमुख डा अधिकारीले केही दिनभित्रै सेवा उपलब्ध हुने जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलवार १९:४६