१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नोबेल शान्ति पुरस्कार विजेता डा डेनिस मुकवेगको सुरक्षामा नेपाली शान्ति सेना (फोटोफिचर)


११ साउन, वलुंगो कंगो । गत वर्ष अर्थात सन् २०१८ को नोबेल शान्ति पुरस्कारका बिजेता कंगोका स्त्रिरोग विशेषज्ञ डा डेनिस मुकवेगको सुरक्षामा नेपाली शान्ति सेनाले काम गरिरहेको छ । गत असोजमा नोबेल शान्ति पुरस्कार पाएका मुकवेगको सुरक्षामा संयुक्त राष्ट्र संघको मनुसको सचिवालयको निर्णय अनुसार नेपाली सेनाले सुरक्षा प्रदान गरेको हो । चिकित्सा पेशासँगै सामाजिक सेवामा समेत क्रियाशिल रहेका मुकवेगको सुरक्षामा हाल क्याप्टेन उत्तरबहादुर चन्दको कमाण्डमा १४ जना शन्ति सैनिक तयानाथ रहेको रणभीम गणका गणपति नेपाली सेनाका लेफ्टिनेन कर्णेल झविन्द्र बहादुर रेश्मी मगरले जानकारी दिए ।

रक्षा मन्त्रालयको प्रतिनिधिमण्डललाई अस्पतालमा स्वागत गर्दै मुकवेग ।

२० वर्ष अघि नेपालमा समेत पुगेका डा मकवेगसँग कंगोको भ्रमणमा रहेको रक्षा मन्त्रालयको डेलिगेशन टिमसँग अन्तरक्रिया समेत गर्यो । अन्तरक्रियाको क्रममा उनले पुन नेपाल भ्रमणको इच्छा जाहेर गरेका थिए । नेपाली शान्ति सेनाको टोलीले दिएको सुरक्षाबाट अत्यन्तै खुशी रहेका मुकवेगले कंगोमा शान्ति स्थापना र नागरिकको सुरक्षामा खेलेको भूमिकाको समेत मुक्तकण्ठले प्रशंशा गरे । उनले नेपाली सेनाले कंगोको बुकाबु क्षेत्रमा शान्ति स्थापनाको काम गर्न थालेपछि महिला हिंसाको घटना समेत कमी भएको बताए ।

रक्षा मन्त्रालयको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियामा मुकवेग ।

मुकवेग जसले बलात्कारको शिकार बनेका हजारौं महिलाहरुको उपचार गरेका छन् । मकवेगले आफ्ना सहकर्मीहरूसँग मिलेर यौनहिंसाबाट पीडित झन्डै ३० हजार महिलाहरूको उपचार गरेका छन । युद्धग्रस्त क्षेत्रमा महिलालाई यौनहिंसाबाट हुने घाउचोटको उपचारमा उनको विशेषज्ञता रहेको छ । उनले निरन्तर रूपमा दण्डहीनता र सामूहिक बलात्कारका घटनाको निन्दा गर्दै आएका छन । युद्धका बेला महिलाविरुद्ध हुने यौनहिंसालाई हतियारका रूपमा प्रयोग गर्ने चलनलाई रोक्न पर्याप्त काम नगरेको भन्दै उनले आफ्नै देशको सरकार र अन्य देशको आलोचना पनि गर्दै आएका छन ।

डा डेनिस मुकवेगको कंगोको बुकाबुमा रहेको निवास बाहिर सुरक्षामा तैनाथ रहेका शान्ति सेनाको २५ अाैँ डफ्फा अर्थात रणभीम गणका सदस्य सैनिकहरू ।

को हुन मुकवेग ? 

कंगोमा युद्ध चर्किएपछि लेमेरास्थित उनको अस्पतालमा ३५ जना विरामीको मृत्यु भयो । उनी त्यसपछि साउथ कंगोको बुकाबु भन्ने ठाउँमा भागेर गई टेन्ट टाँगेर अस्पताल सुरु गरे । उनले सुरु गरेको प्रसुतीगृहमा सुरूमै अपरेशन थिएटर पनि थियो । तर, सन् १९९८ मा सबै क्षतिग्रस्त भयो र सन् १९९९ देखि उनले पुन सबै सुरु गरे । त्यसैवर्ष पहिलो पटक बलात्कार पीडित महिला उनको अस्पतालमा उपचार गर्न आइन् । बलात्कारपछि उनको गुप्तांगमा गोली हानिएको थियो । उनी भन्छन्, ‘मलाई लाग्यो कि यो युद्धमा गरिएको बर्बर कृत्य हो । तर वास्तविक झट्का तीन महिनापछि लाग्यो । ति महिलाजस्तै अन्य ४५ जना बलात्कार पीडित उपचारका लागि आए । उनीहरुको कथा पनि यस्तै थियो । सबैले भन्थे, आतंकवादीहरु हाम्रो गाउँमा पसे, बलत्कार गरे र हामीलाई यातना दिए ।’

रक्षा मन्त्रालयको प्रतिनिधिमण्डलसँग सामूहिक तस्बीर खिचाउँतै नोबेल शान्ति पुरस्कार बिजेता डा डेनिस मुकावेग ।

उनका अनुसार बलात्कारपछि गुप्तांगमा तेजाबजस्ता रसायन हालिदिएर शरीर जलेका महिलाहरु पनि उपचारका लागि आउँथे । उनलाई लाग्थ्यो, यस्तो किन भइरहेको छ ?  यो युद्धमा गरिएको हिंस्रक कृत्य मात्रै थिएन, रणनीतिको हिस्सा थियो । कुनै समय एकै रातमा पनि पुरै गाउँका महिलामाथि बलात्कार हुन्थ्यो ।  यस्तो गरेर आतंकवादीहरुले महिलाहरुलाई चोट पु¥याएका मात्रै होइन, पुरुषहरुलाई बलात्कार हेर्न बाध्य बनाएका थिए ।

डा. मुकवेग भन्छन्, ‘हामी महिलाहरुको उपचार केही चरणमा गर्दथ्यौं । अपरेशन गर्नुअघि उनीहरुले त्यसक्रममा हुने पीडा सहन गर्नका लागि तयार छन् कि छैनन् भनेर मनोवैज्ञानिक परीक्षण गर्दथ्यौं । अपरेशनपछि हामी केही चरणमा उपचार गर्दथ्यौं, महिलाको सामाजिक र आर्थिक रुपले पनि हेरचाह गरिन्थ्यो ।’ जति महिलाहरु यसरी पीडित बनेका थिए, उनीहरुसँग केही पनि हुँदैन थियो । कतिपय समयमा त लगाउने कपडा पनि हुँदैन थियो । उनीहरुलाई खान दिनुपर्दथ्यो, हेरचाह गर्नुपर्दथ्यो । अस्पतालबाट फर्किएपछि यदि उनीहरु जीवनलाई अघि बढाउन सक्षम भएनन् भने फेरि खतरा हुन्थ्यो ।

सामाजिक आर्थिक अवस्था सुधार गर्न सहयोग गर्नुपर्दथ्यो । केही महिलालाई उनीहरुले नयाँ सिप सिक्न सहयोग गर्ने र किशोरीहरुलाई पुनः पढाई सुरु गर्न पनि सहयोग गर्नुपर्दथ्यो । सबैभन्दा अन्त्यमा उनीहरुलाई कानुनी सहयोग उपलब्ध गराउन कोशिस गरिन्थ्यो । कतिपय अवस्थामा पीडित महिलाले आक्रमणकारी पहिचान गरेमा अदालती कारबाहीमा पनि सहयोग गर्नुपर्दथ्यो । सन् २०११ मा कंगोमा यस्ता घटनामा कमी आयो । त्यसबेला अब देश महिलाका लागि खतरनाक र दर्दनाक हुदैन भन्ने आशा लागेको थियो ।

तर लगत्तै युद्ध सुरु भयो र यस्ता घटना बढ्न थाले । महिला बलात्कारका कतिपय घटना सिधै युद्धसँग जोडिने गरेका छन् । यस क्रममा डा. डेनिस र उनको परिवारमाथि पनि हमला भयो । उनी भागेर परिवारसहित स्वीडेन र पछि ब्रसेल्स गए । तर, सन् २०१३ मा उनी पुनः कंगो फर्किए र बुकाबुमै स्वास्थ्य सेवामा लागिरहे ।

उनीमाथि भएको हमलाको विरोधमा महिलाहरुले सरकारविरुद्ध प्रदर्शन पनि गरे । कंगोमा फिर्ता गराउँन टिकट काट्नका लागि पैसा पनि जम्मा गरे । जतिबेला उनीहरुसँग केही पनि थिएन । गरिबीको सबैभन्दा तल्लो स्तरमा थिए । उनी भन्छन्, ‘कंगोका महिलाको यो शोषणका विरुद्ध लड्ने हिम्मतले मलाई फिर्ता आउँन प्रेरित ग¥यो ।’

सुरक्षा कमाण्डको नेतृत्व सम्हालेका नेपाली सेनाको क्याप्टेन उत्तरकुमार चन्द ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार २०:४०