१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्रधानमन्त्रीकै नाममा चन्दा आतंक ! विज्ञापन माग्न आउनेलाई समातेर प्रहरीमा बुझाउन अपिल


७ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाम बेचेर बजारमा चन्दा आतंक मच्चिएको छ । बजारमा प्रधानमन्त्रीकै नाम बेचेर चन्दा आतंक मच्चिएको सूचना प्रधानमन्त्री निवास बालुवाटारमा पुगेपछि प्रधानमन्त्रीले निकटता देखाएर विज्ञापन वा सहयोग माग्नेलाई समातेर प्रहरीकोमा बुझाउन अनुरोध गरेका छन । प्रधानमन्त्रीलाई प्रयोग गरेर अकुत कमाउन लागि परेको समूहका नाममा प्रधानमन्त्रीको यो सन्देश प्रवाह भएको बुझिएको छ ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ संस्था प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेत लगायतसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले यस्तो अनुरोध गरेका हुन । केही समय अघिसम्म प्रधानमन्त्रीसँगको कुराकानीको व्यापार गर्दै आएको समूहले नै प्रधानमन्त्रीका लागि सञ्चार माध्यम सञ्चालन गर्न लागेको भन्दै व्यापारिक घरानासँग करोडौँ करोड रूपैयाँ प्रस्ताव लिएर घुमिरहेको भन्ने सूचना पनि बालुवाटार पुगेको छ ।

केही समय अघि सिंहदरबारभित्रै चन्दा आतंक मच्चाएको उक्त समूहले प्रधानमन्त्रीका लागि खास मिडिया खोल्छु भन्दै पैसा मागिरहेको  भन्ने सूचना पाएपछि प्रधानमन्त्रीले उक्त व्यक्तिहरूलाई समातेर प्रहरीकोमा बुझाउन  अनुरोध गरेको सहसंयोजक बस्नेतले खुलासा गरेका छन । उनले प्रधानमन्त्रीसँगको संवाद पछि सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक अपिल नै गरेका छन । उनले सार्वजनिक अपिलमा सम्माननीय प्रधानमन्त्रीको नाममा ठग्न आउनेलाई जुत्ताले हानेर सोझै प्रहरीमा बुझाउनु आग्रह गरेका छन ।

बस्नेतले लेखेका छन ‘सार्वजनिक हितका लागि सूचना, बालुवाटारको नाम बेच्दै केही दलालहरु म त प्रधानमन्त्रीको लागि खास अनलाइन खोल्दैछु, कति दिनुहुन्छ ? खास पत्रिका खोल्दैछु, कति दिनुहुन्छ ? खास टीभी खोल्दैछु कति सहयोग गर्नुहुन्छ ? प्रधानमन्त्रीको टमिलाई भन्दैछन रे । सम्माननीय प्रधानमन्त्रीको नाममा ठग्न आउनेलाई जुत्ताले हानेर सोझै प्रहरीमा बुझाउनु होला, चन्दा वा बिज्ञापन नदिनु होला । यो बालुवाटार, सरकार, नेकपा र प्रेस संगठन नेपालको औपचारिक धारणा हो । नठगिनोस, नझुक्किनोस ।’

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलवार २१:१४