१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण छ: गृहमन्त्री थापा


६ साउन, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापाले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापनको जिम्मेवारी चुनौतीपूर्ण रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जले आज यहाँ आयोजना गरेको ‘तालीम समापन समारोह’मा उहाँले नेपाल प्रहरीको सङ्घीय संरचनामा साङ्गठानिक स्वरूप बन्न गइरहेकाले सङ्घ र प्रदेशको सम्बन्धलाई सुदृढ बनाएर मुलुकको सुरक्षा थप बलियो बनाउन जरुरी रहेको बताउनुभयो ।

“सुढृढ र प्रविधियुक्त नेपाल प्रहरी निर्माण गर्न गृह मन्त्रालय लागेको छ”, उहाँले भन्नुभयो । गृहमन्त्री थापाले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्न भरपर्दो सुरक्षा व्यवस्था आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाल प्रहरीले सीमित स्रोत र साधनका बावजुद पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले नेपाल प्रहरीको संस्थागत क्षमताको विकासका लागि मन्त्रालयको सहयोग रहेको बताउनुभयो । नेपाल भ्रमण वर्ष सफल बनाउन सुरक्षा व्यवस्थालाई कडा बनाउनु जरुरी रहेको उहाँको भनाइ थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तालीमले सामाजिक योजना, व्यवस्थापन र सुधारका लागि रणनीतिक कौशल, दृष्टिकोण ज्ञान अभिवृद्धि गर्न सफल हुने बताउनुभयो । सो तालीममा प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार १८:४९