१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

फागुनमा पर्यटन लगानी सम्मेलन


६ साउन , काठमाडाैँ । नेपालको पर्यटन क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनमा पर्यटन लगानी सम्मेलन काठमाडौँमा आयोजना गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर भ्रमण वर्ष सचिवालयले पर्यटन लगानी सम्मेलन गर्ने तयारी गरेको हो । पर्यटनमा लगानीको दुई पक्षीय सम्झौता गर्ने गरी लगानी सम्मेलन आयोजना गर्न लागिएको भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी दिनुभयो ।

एशियाली विकास बैंक, विश्व बैंक र इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आइएफसी)सँगको साझेदारीमा पर्यटन लगानी सम्मेलन गरिनेछ । “यो विगतका लगानी सम्मेलन भन्दा फरक हुन्छ, लगानी अवसर र सम्भावना सुनाउने मात्र हैन लगानी सम्बन्धी सम्झौता र प्रतिबद्धता आउने गरी सम्मेलन गर्ने तयारीमा छौ”, संयोजक वैद्यले भन्नुभयो ।

सम्मेलनमा छिमेकीमूलुक भारत र चीनका अलावा युरोप, मध्यपूर्वी एशियालगायत मुलुकबाट पनि लगानीका लागि व्यवसायी आउने जनाइएको छ । पर्यटनको कुन क्षेत्रमा कस्तो लगानी गर्ने भनेर सातवटै प्रदेशका मुख्यमन्त्री र निजी क्षेत्रसँग छलफल गरिएको छ । संयोजक वैद्यका अनुसार दुई÷तीन चरणको छलफल भइसकेका छ ।

तुलनात्मक रुपमा कम पर्यटक आउने प्रदेश नं– २ लाई नेपालको अध्यात्म पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यसहित प्रवद्र्धनको गतिविधि बढाइनेछ । जनकपुरको जानकी मन्दिर बाहेक अन्य महत्वपूर्ण धार्मिक क्षेत्र छन् । जैन धर्मका २४ वटा भगवानमध्ये एक त्यही जन्मेको पाइएको छ । प्रदेश सरकारलाई मन्दिरका लागि जग्गा माग गरिएको र त्यहाँ ठूलो जैन मन्दिर निर्माण गरिएमा धार्मिक पर्यटन बढ्ने सम्भावना रहेको वैद्यको भनाइ थियो । गुरु नानकको पनि मन्दिर बनाएर पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको छ ।

प्रदेश नं– ५ मा पर्यटकीय पूर्वाधार तारे होटल, सपिङ सेन्टर, अध्यात्म केन्द्र आदि सञ्चालन गर्न सरकारसँग ५० वर्षको लागि जग्गा भाडामा दिलाउन माग गरिएको संयोजक वैद्यले जानकारी दिनुभयो । उक्त क्षेत्रमा जग्गाको सुनिश्चितता भए पर्यटन लगानी सम्मेलनबाटै लगानी भित्र्याउने योजना बनाइएको छ । अहिले मध्यपूर्वी मुलुकका लगानीकर्ताले नेपालको पर्यटन क्षेत्रमा लगानीका लागि चासो देखाएका छन् । पर्यटन लगानी सम्मेलन अघि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार गरी आतिथ्य सत्कारको नमूना प्रस्तुत गरिने संयोजक वैद्यले बताउनुभयो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार १४:४५