६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

बद्नाम गराउन स्रोत नखुलेको रकमको प्रचार गरियाेः पूर्वमन्त्री बस्नेत


४ साउन, काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूलाई राजनीतिक र सामाजिक हिसाबले बद्नाम गराउन सहकारीमा स्रोत नखुलेको रकम छ भनी प्रचार गरिएको बताउनुभएको छ । महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा उहाँका नाममा रु ६१ करोड स्रोत नखुलेको रकम रहेको भन्ने समाचार केही सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो ।

त्यस विषयमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी पूर्वमन्त्री बस्नेतले स्रोत नखुलेको रकम छ भनी सार्वजनिक गरिएको सहकारीमा आफ्नो खाता नभएको जानकारी दिनुभयो । सहकारीमा स्रोत नखुलेको रु ६१ करोड छ भनी प्रचार गर्नुलाई आफूले त्यसैको कडीका रुपमा लिएको पूर्वमन्त्री बस्नेतको दाबी छ । समाचार तथ्यहीन र कपोलकल्पित भएकाले त्यसलाई विश्वास नगर्न उहाँले आग्रह गनुभयो ।

यसैबीच सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपकविक्रम थापाले पनि विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री बस्नेत र उहाँको परिवारका सदस्यको सहकारीमा खाता नभएकाले स्रोत नखुलेको पैसासमेत नराखेको उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार १४:३३