१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

अनेरास्ववियूको निर्णयमा नेता सुरेन्द्र बस्नेतको आपत्ति किन ?


३ साउन, काठमाडाैँ । अनेरास्ववियूले चन्दा उठाउने काम बन्द गर्ने घोषणा गरेको लगायतको निर्णय प्रक्रियामा अनेरास्ववियूकै एक जना नेता सुरेन्द्र बस्नेतले आपत्ति जनाएका छन । बिहीबार अनेरास्ववियूका संयोजक ऐन महरले पत्रकार सम्मेलननै गरेर बुधबार बसेको बैठकको निर्णय सार्वजनिक गरेका थिए । सोही विषयमा तत्कालीन अनेरास्ववियु क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष बस्नेतले बैठकको बिधि र प्रक्रिया हुने भन्दै आपत्ति जनाएका हुन । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत असन्तुष्टि यसरी पोखेका छन ।

सुरेन्द्रको असन्तुष्टि उनकै शब्दमा

हाम्रो गौरवशाली संगठन अनेरास्ववियू एकताको ऐतिहासिक चरणवाट गुज्रिरहेको छ। पार्टी एकताको लामो समयपछि संगठनले वल्ल संयोजक र सहसंयोजक प्राप्त गरेको छ । दुई सदस्यीय कमिटीले पुर्णता पाउन वांकी नै छ । यसै सन्दर्भमा अनेरास्ववियूद्वारा प्रथम वैठकको निर्णय सार्वजनिक गर्न भनेर आज आयोजना गरिएको भनिएको पत्रकार सम्मेलनले परिपक्वता हासिल गर्न सकेको देखिएन । उठाइएका विषयवस्तु र मुद्दामा पुर्ण रुपले सहमत हुंदाहुंदै पनि पत्रकार सम्मेलनसम्म पुग्दा सवै जुट्ने स्थिति वनेन ।

अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत ।

पार्टी एकता भए यता दुवै संगठनका कयौं संयुक्त भेला, वैठक,छलफलहरु भए । एकतापछि पनि कतिपय सन्दर्भमा नऔंपचारिक वैठक र छलफलहरु भएका छन् । तर एकता पश्चात् कुनै औंपचारिक वैठक भएको छैन र कुनै नयाँ निर्णय पनि भैहालेको छैन । यसर्थ एकताको संवेदनशीलतालाई उच्च सम्मान गर्दै वांकी एकतालाई अविलम्ब पुर्णता दिएर अनेरास्ववियूलाई शैक्षिक आन्दोलनको वाघ संगठन वनाउने महाअभियानमा सवै जुटौं ।

यस्तै सुरेन्द्रको बिरोधपछि पूर्व अखिल कान्त्रिकारीकै सचिव समेत रहेका नेता डिबी साउदले केही प्रश्न गर्दै अनेरास्ववियुको चन्दा बन्द गर्ने निर्णयमा दह्रो समर्थन जनाएका छन । उनले सामाजिक सञ्जाल फेसबुकमै यस्तो लेखेका छन ।

कमरेडहरु
हिजो बागबजारमा लगभग झन्डै १ दिवसीय बैठक साविक अनेरास्ववियू(क्रान्तिकारी) र अनेरास्ववियुका पदाधिकारी र उपत्यका तिन जिल्ला अध्यक्ष सहित उपलब्ध केन्द्रिय सदस्यहरुको मिटिङ संयोजक ऐन महरको अध्यक्षता संगठनका आदरणीय पुर्ब अध्यक्ष द्वय माधव ढुङेलको प्रमुख र रमेश मल्लको बिशेश उपस्थितिमा सप्पन्न भयो यो बैठकमा प्रस्ताव भएका एजेन्डामा सम्पुर्ण पदाधिकारी र सदस्यहरुले सुझाव राख्नु भो र केहि सुझावलाई समेटेर भोली ४ बजे पत्रकार सम्मेलन मार्फत जानकारी भन्ने कुरा हलमा आयो र गर्नु हुदैन भन्ने कुनै पनि कमरेडले भन्नु भएन।

अनेरास्ववियूका नेता डिबी साउद ।

त्यही सूचनालाई आधार मानी पत्रकार सम्मेलनमा सहभागी भईयो ।केहि समय अगाडि संयोजक बाहिर हुदा कार्यबाहक संयोजकको उपस्थितमा हामी शिक्षा मन्त्रालयमा माग पत्र बुझाउन पनि उपलब्ध पदाधिकारी हामी गएकै हो । त्यही र त्यसैमा थप कुरा सहित पत्रकार सम्मेलन मार्फत धारणा सार्बजनिक गर्नु हिजो नै भएको कुरा हो।कार्यक्रम नहुने भन्ने सूचना पनि आएन संयोजक हुनुहुन्छ सह संयोजक बाहिर हुनुहुन्छ त्यसैलाई नै आधिकारिक मान्नु पर्यो । कि त हिजोको १ दिवसीय बैठक किन आयोजना अहिले …? अहिलेलाई यति नै ।  सुरेन्द्रले बैठकमा सहभागिता जनाएर भएको निर्णयमा असहमति जनाउनुको कुनै अर्थ नरहेको सन्देश साउदले दिन खोजेका छन ।

यता अनेरास्ववियूका कतिपय नेताले भने विगतमा अनेरास्ववियूको नाममा चन्दा उठाएर खान पल्केकाहरू बिरोधमा देखिएको भन्दै कडा टिप्पणी गरेका छन । अनेरास्ववियुका एक जना नेता भरतसिंह धामीले चेतावनीयुक्त भाषामा यस्तो सन्देश लेखेका छन ।

अर्को कुराको ख्याल के होस भने हिजोको जस्तो मनोमानी ब्यक्ति ब्यक्ति ले मुद्दा उठाउने बिज्ञप्ति निकाल्ने र सम्बन्धित निकायमा बुझाएर फोटो खिच्ने, मिडियावाजी गर्ने तर कार्यान्वयनमा ध्यान नदिने, कार्यान्वयन नहुने समस्या र घरमा ग्यास सक्कियो, कोठा भाडा तिर्नु पर्‍यो, छोराछोरी को फि तिर्नु पर्‍यो, दशै तिहार आयो भने आन्दोलन गरे जस्तो गर्ने र पैसाको बिटो बुझेर आन्दोलन लाई बेच्ने आन्दोलन तुहाउने गलत परिपाटीको अन्त्य अहिले देखि नै हुन्छ, यी मुद्दा कार्यान्वयन नहुन्जेल सम्म वा कार्यान्वयन हुने ग्यारेन्टी नभए सम्म वा कार्यान्वयन को चरणमा प्रवेश नगरे सम्म अखिल ले अर्को मुद्दा उठाउदैन!!

अनेरास्ववियूका नेता भरतसिंह धामी ।

यो पनि पढ्नुहोस्

ऐन महरको नेतृत्वमा अनेरास्ववियूको अहिलेसम्मकै साहसिक निर्णय, अब चन्दा बन्द (निर्णयसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले अबदेखि कसैसँग पनि चन्दा नलिने निर्णय गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न विहिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा संयोजक ऐन महरले सङ्गठन सञ्चालन गर्न संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै आर्थिक सहयोग नलिने बताए ।

‘अब अनेरास्ववियूले संस्थागत र व्यक्तिगत रुपमा निजी शैक्षिक संस्था तथा विश्वविद्यालयबाट कुनै पनि आर्थिक सहयोग लिन बन्द गरेको छ’, उनले भने, ‘कुनै मातहत कमिटी र नेता कार्यकर्ताले त्यस्तो आर्थिक सहयोग लिएको पाइएमा अनुशासनको कारवाहीको भागीदार बनाइनेछ ।’

उनले सांस्कृतिक र रचनात्मक कार्यक्रम गर्दा मात्र आर्थिक सहयोग लिने बताए । संयोजक महरले सङ्गठनका नेता तथा कार्यकताबाट ‘लेवी’ उठाई सङ्गठन सञ्चालन गरिने बताए । ‘सङ्गठन एक भएपछि ५० हजार सङ्गठनको कमिटीमा आबद्ध छौँ, उनले, ‘कमिटी सदस्यबाट लेवी उठाउँछौँ ।’

बैठकले विश्वविद्यालयको प्राध्यापकको नियुक्ति गर्न सबै विश्वविद्यालयको एक छाता सेवा आयोग बनाउन तथा करार र आंशिक प्राध्यापकको व्यवस्थापनको लागि नियमित सेवा आयोगको परीक्षा सञ्चालनको माग गरेको छ । साथै प्रतिस्पर्धाबाहेक अन्य प्रावधानबाट प्राध्यापक नियुक्ति नगर्न आग्रह गरेको छ ।

यस्तै विभिन्न विश्वविद्यालयमा पदाधिकारीदेखि क्याम्पस प्रमुखको खुला प्रतिस्पर्धाको व्यवस्था गर्न माग गरिएको छ । यसैगरी संयोजक महरले त्रिविमा गोल्डमेडलको लागि अङ्क थप्ने काममा संलग्न जो कोहीलाई कारवाही गर्न माग गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले सरकार र अन्य सम्बद्ध निकायले तोकेको मापदण्ड अवज्ञा गर्दै कक्षा ११ र १२ मा आफूखुशी शुल्क बढाउने शिक्षालयलाई तत्काल कारवाहीको दायरामा ल्याउन पहल गर्ने निर्णय गरेको छ ।

छात्रवृत्ति प्रदान गरेको विवरण सम्बन्धित स्थानीय तह र विद्यालयले आफ्नो विद्यालयको सूचना पाटी र वेबसाइटमा पारदर्शी ढङ्गले राख्नुपर्ने र अनुगमनमा स्थानीय तहले विद्यार्थी सङ्गठनको प्रतिनिधि अनिवार्य गर्नुपर्ने, त्रिविले प्रवीणता प्रमाणपत्र तह ‘फेज आउट’ गर्दा विद्यार्थी सङ्गठनसँग गरिएको सम्झौता कार्यान्वयनमा लैजान दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

साथै बाढीपहिरो, भूकम्प र हावाहुरीजस्ता प्राकृतिक प्रकोपमा परी अभिभावक गुमाएका विद्यार्थीलाई विद्यालय शिक्षामा उचित छात्रवृत्तिको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । बैठकले सबै स्थानीय तहमा शैक्षिक परामर्श केन्द्रको स्थापना गरी परामर्श प्रदान गर्न माग गरेको छ । एकतापछि केन्द्रीय कमिटीको बैठक बुधबार काठमाडौँमा भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार १०:३६