१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

समृद्धिका लागि अगाडि बढ्यौँः मुख्यमन्त्री गुरुङ


२ साउन, पाेखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार र पार्टी बीचको सम्बन्धलाई सुमधुर बनाउँदै मुलुकको विकास तथा समृद्धिका लागि आफूहरू अघि बढेको बताउनुभएको छ । नेकपा जिल्ला कमिटी नवलपुरद्वारा पार्टी केन्द्रीय सदस्य एवं सङ्घीय सांसद तिलक महतका आमा नन्दकलीको छैटौँ पुण्य तिथिका अवसरमा कावासोतीमा आयोजित श्रद्धाञ्जलिसभामा पार्टीको गण्डकी प्रदेशका इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले पार्टीभित्र मौलाएको विसङ्गति र विकृतिका विरुद्धमा सङ्गठित भएर सामना गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कोराला, पोखरा भिमाद हुँदै पूर्वपश्चिम राजमार्ग जोड्दै सुस्ता पूर्व त्रिवेणीसम्म सडक निर्माण गर्ने प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि कतिपय कानूनी अड्चन फुकाउन सङ्घीय सरकारले ढिलासुस्ती गरेको धारणा राख्नुभयो ।

गण्डकी प्रदेश सरकारको गत आर्थिक वर्ष ८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य रहेपनि कर्मचारी अभाव, विभिन्न ऐन नीति, कार्यविधि समयमा निर्माण हुन नसक्दा सोचे अनुसारको खर्च गर्न नसकेको उल्लेख गर्दै उहाँले चालू आर्थिक वर्षमा लक्ष्य प्राप्तिका लागि समयमै विकास निर्माणमा जुट्ने बताउनुभयो ।

कावासोतीस्थित आप्mनो निवासमा दुःखमा बस्नुभएका सांसद महतले आमाको प्रेरणाले आपूm राजनैतिक क्षेत्रमा लाग्न सफल भएको बताउनुभयो । पार्टीको नवलपुरका अध्यक्ष तथा प्रदेशसभा सदस्य रोशन गाहामगरले पार्टीको जुनसुुकै अवस्थामा पनि सहयोग पु¥याउँदै आउनुभएको आमा नन्दकलीको निधनले अपुरणीय क्षति पुगेको बताउँदै अग्रजले देखेका सपना पूरा गर्न सिङ्गो पार्टी पङ्ति सङ्गठित भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

सभामा मुख्यमन्त्री गुरुङ, पार्टी स्थायी कमिटी सदस्य सोमनाथ प्यासी, प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, प्रदेश सरकारका भौतिक योजना तथा विकासमन्त्री रामशरण बस्नेत, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल कृषिमन्त्री लेखबहादुर थापा, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान लगायतले स्वर्गीय नन्दकलीप्रति श्रद्धान्जलि अर्पण गर्नुभयो । नन्दकलीको काठमाडौँमा उपचारका क्रममा असार २७ गते ८३ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार १९:२९