४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

बजेट कार्यान्वयनका हिसाबले प्रदेश ५ अघिः संकर पाेखरेल


३१ असार, खस्यौली । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बजेट कार्यान्वयनका हिसाबले आफ्नो प्रदेश अघि रहेको बताउनुभएको छ । आज प्रदेश नं ५ को प्रदेशसभामा समसामयिक विषयमा उहाँले कालोपत्रेसँग सम्बन्धित आयोजनाको काम जेठ मसान्तसम्ममा नै टुङ्गिने गरी काम गरिनेछ भन्नुभयो । उहाँले भन्नुुभयो, “जेठपछि गरेका काममा समस्या हुन्छ भन्ने कुरामा सचेत छाैँ, बजेट कार्यान्वयनमा प्रदेश नं ५ अन्य प्रदेशको तुलनामा अगाडि छ ।”

मुख्यमन्त्री पोखरेलले राप्तीको केही क्षेत्र डुबानमा परेको र खहरे खोलाका कारण यातायातमा समेत अवरोध उत्पन्न भएको जानकारी दिँदै प्रदेशसभालाई वर्षाका कारण आउनसक्ने सम्भावित खतरालाई ध्यान दिएर पूर्वतयारी र सर्तकता अपनाउन आवश्यक भएको बताउनुभयो ।त्यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

सो प्रस्तावमा सैद्धान्तिक छलफल गर्दै प्रदेशसभाका सदस्य सुरेन्द्र हमालले पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा खेलकूदको विषय अपुरो रहेको टिपणी गर्नुभयो । प्रदेशसभाका सदस्यद्वय दिनेश पन्थी र सरस्वती गौतमले कानूनमार्फत राम्रो काम गरेकालाई सम्मान गर्न खोजिएको बताउनुभयो । प्रदेशसभाका सदस्यले उठाएको प्रश्नकोे जवाफ दिँदै मन्त्री केसीले योगदानमा आधारित भएर राम्रो कामकोे सम्मान गर्ने परिपाटीको विकास गर्न खोजिएकोे उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलवार १८:३४