१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पूर्व प्रधानमन्त्री नेपालको निर्देशनमा बालुवाटारको १४ रोपनी जग्गा बाँडिएको बस्नेतको खुलासा


३० असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त तथा पूर्वसचिव दीप बस्न्यातले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा बालुवाटारको १४ रोपनी जग्गा बाँडिएको रहस्य खोलेका छन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा वयानका लागि उपस्थित भएका बस्न्यातले तत्कालीन प्रधानमन्त्री नेपालकै निर्देशनमा बालुवाटारको १४ रोपनी जग्गा सट्टा भर्नाको रूपमा बाँडेको बताएका हुन ।

बस्नेतले तत्कालीन प्रधानमन्त्री नेपाल र मुख्यसचिव स्वर्गीय माधव घिमिरेको निर्देशनमा ‘प्रधानमन्त्री निवास विस्तार गुरुयोजना’ अनुसार सरकारी ललितानिवासको जग्गा सट्टाभर्ना दिएको बताएका हुन । उनी २०६६ र २०६७ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव भएका थिए । बस्न्यातले बयानमा माधव नेपालप्रति चोर औँला ठड्याएसँगै ललितानिवास जगा हिनामिना प्रकरणको अनुसन्धानले नयाँ मोड लिने देखिएको छ ।

बस्नेतले सचिव भएका बेला २०६६ चैत २९ गते बस्न्यातले हस्ताक्षर गरेको कागजातमा प्रधानमन्त्री निवास विस्तार, व्यक्तिका जग्गामा बाटो लैजान सरकारी जग्गा उपलब्ध गराउने, नक्कली मोहीलाई सट्टा भर्ना दिनेलगायत ७ वटा विषय उल्लेख छन् । यिनै विषयमा विस्तृत अनुसन्धान भइरहेको आयोगले जनाएको छ। ललितानिवासले चर्चेको करिब १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा मुछिएका बस्न्यात शुक्रबार साँझ आयोग कार्यालयमै पुगेर सरकारी जग्गा सट्टाभर्नासम्बन्धी विषयमा माथिबाट निर्णय भएकाले आफूलाई जोड्न आवश्यक नरहेको जिकिर गरेका हुन् ।

प्रधानमन्त्री निवास विस्तारका नाममा भूमाफियालाई करिब १४ रोपनी जग्गा सट्टाभर्ना दिने निर्णयमा तत्कालीन सचिव बस्न्यातले सहमति जनाएको आरोपमा उनीमाथि छानबिन भइरहेको छ। त्यस्तै प्रधानन्यायाधीश, प्रधानमन्त्री र सभामुख निवासको पर्खालसँगै जोडेर हडपिएको जग्गामा ८ मिटर चौडा ५ सय ७० मिटर बाटो निर्माण गर्न स्वीकृति दिएको विषयमा पनि आयोगले बस्न्यातमाथि अनुसन्धान गरिरहेको छ।

यो समाचार मातृका दाहालले आजको नागरिक दैनिकमा लेखेका छन । 

प्रकाशित मिति : ३० असार २०७६, सोमबार १०:४०