१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

विश्वकप क्रिकेटको उपाधि पहिलो पटक इंग्ल्याण्डले जित्यो


३० असार, काठमाडाैँ । विश्वकप क्रिकेटको उपाधि पहिलो पटक इंग्ल्याण्डले जितेको छ । निर्धारित ५० ओभरको खेलमा बराबरी भएपछि सुपर ओभरमा गएको खेलमा पनि बराबरी भएपछि बाउण्ड्रीका आधारमा इंग्ल्याण्डले विश्वकप क्रिकेटको उपाधि जितेको हो ।

इंग्ल्याण्डले सुपर ओभर र निर्धारित ५० ओभरमा २२ चौका र २ छक्का प्रहार गरेको थियो भने न्यूजिल्याण्डले १४ चौका र २ छक्का प्रहार गरेको थियो । निर्धारित ५० ओभर र सुपर ओभर पनि बराबरी भएपछि बढी बाउण्ड्री हानेका आधारमा इंग्ल्याण्ड विश्वविजेता बन्न पुगेको हो । विश्वकपको इतिहासमा फाइनल खेल सुपर ओभरमा गएको यो पहिलो पटक हो ।

यस्तै न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले कप्तानका रुपमा विश्वकपमा धेरै रन बनाउन १२ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । यसअघि श्रीलंकन खेलाडी महेला जयबर्दनेले बनाएको ५४८ रनको रेकर्डलाई विलियम्सन तोड्न सफल भए । एकै विश्वकपमा धेरै रन बनाउने अब विलियम्सन पहिलो कप्तान बनेका छन् ।

 

प्रकाशित मिति : ३० असार २०७६, सोमबार ०९:००