८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

हाम्रो भन्दा राम्रो मान्छेको नियुक्ति नै विश्वविद्यालय सुधारको अचुक औषधि


-जीवनप्रकाश शर्मा
नेपालको सबैभन्दा जेठो विश्वविद्यालयले आफ्नो ६०औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ उत्साहपूर्वक मनाएको छ । लामो इतिहास बोकेको यस विश्वविद्यालयले आजका दिनसम्म आइपुग्न धेरै उकाली र ओराली तथा अनेकौँ चुनौतीहरू पार गर्दै आएको छ । विश्वस्तरको विश्व विद्यालयको सूचिमा १००० भित्र पर्नु र एशियाको विश्वविद्यालयको सूचिमा ३०० मा पर्नु विश्वविद्यालय सँग आबद्ध हामी सबैको गौरबको विषय हो ।

मुलुकमा ११ विश्वविद्यालयहरू भएतापनि ८०% कार्यबोझ त्रि.वि कै काँधमा छ । यस बोझको उचित व्यवस्थापन नै अहिलेको त्रिविको प्रमुख चुनौती हो । विश्वविद्यालयका इन्जीनियरिङ्ग, चिकित्साशास्त्र, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट उत्पादित जनशक्ति एशियाकै उच्चश्रेणीमा मापन गरिन्छ । तर विश्वविद्यालयबाट उत्पादित दक्षजनशक्ति विदेश पलायन हुनुनै अहिले हामी सबैको लागि चिन्ताको विषय बनेको छ ।

विश्वविद्यालयहरू सेवा, अनुसन्धान र शैक्षिक गुणस्तरीय तथा उत्पादनशील शैक्षिक केन्द्रका रूपमा विकसित हुुनुपर्छ । दलैपिच्छेका विद्यार्थी, प्राध्यापक र कर्मचारी संगठन रहँदा सम्म विश्वविद्यालयहरू प्राज्ञिक थलोको रूपमा बिकसित हुन सक्दैनन् । विश्वविद्यालय केवल प्रमाणपत्र लिने र दिने संस्था हो भन्ने मानसिकतामा परिवर्तन नआएसम्म गुणस्तरीय शिक्षाको कल्पना समेत गर्न सकिँदैन ।

विश्वविद्यालय स्वायत संस्थाको रूपमा विकास हुने क्रममा यदाकदा सरकारी हस्तक्षेपका स्वरहरू संचार माध्यममा नआएका भने होइनन् । विश्वविद्यालयलाई बदलिँदो परिस्थिती अनुकुल, गुणस्तरीय शिक्षा, शिपमूलक जनशक्ति उत्पादन गर्ने क्रममा जुन सोचाइ र लक्ष्यका साथ अगाडी बढाउनुपर्ने हो त्यसो हुन नसकेको यथार्थता लाई हामीले बिर्सनु हुँदैन ।

विश्वविद्यालयको गुणस्तरीयता, विश्वसनीयता अन्तराष्ट्रिय करण र रोजगारी मुलक शिक्षा सँग आवद्ध विषय वस्तुहरूको लागि छलफल गर्ने सवालमा सरकार, पदाधिकारी, विद्यार्थी र राजनीतिक दलका प्रतिनिधीहरूले एउटै थलोमा बसेर यसका भावी नीति, रणनीतिहरू सामूहिक रूपमा अबपनि बनाउन सकिएन भने राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा विश्वविद्यालयको साख क्रमशः क्षयीकरण हुँदै जान्छ । त्यसैले विश्वविद्यालयको साख उच्च बनाउन संस्थाका पदाधिकारीहरूको भूमिका सबै भन्दा महत्वपूर्ण हुन्छ ।

अहिले समय र सन्दर्भपनि मिलेको छ । विश्वविद्यालयहरूका अधिकांश उपकुलपतिहरूको पदावधी दुईमहिना पछि समाप्त हुँदैछ । सरकार अहिले स्थायी प्रकृतिको छ । विगतका तीता अनुभवबाट पाठ सिकेर पदाधिकारीहरूको नियुक्ति गर्नु अहिलेको प्रमुख आवश्यकता हो । यसैले पदाधिकारी नियुक्तिको सिफारिस गर्न विशेषज्ञ प्राध्यापक वा पूर्व पदाधिकारी संलग्न सर्च कमिटिले अन्तराष्ट्रिय मापदण्ड तथा राष्ट्रिय आवश्यकतालाई मध्यनजर राखेर उपयुक्त व्यक्तित्वहरूको खोजी गर्ने बेला आएको छ ।

लाखौँ विद्यार्थीहरूको भविष्य जोडिएका विश्वविद्यालयहरूका पदाधिकारीहरू नियुक्ति हुन इच्छुक व्यक्तिहरूको योग्यता, कार्यक्षमता र अनुभवका साथै उनीहरूले प्रस्तुत गर्ने कार्य योजना लाई आधारमानी पदाधीकारी नियुक्ति गर्ने परिपाटी हामीले बसाल्न सक्यौँ भने अहिले देखिएका विकृती तथा विसंगतीहरू आपसेआप, कमि हुँदै जानेछन् ।

हाम्रो भन्दा राम्रो मान्छेको नियुक्ति नै विश्वविद्यालय सुधारको अचुक औषधी हो । विश्वविद्यालयप्रति सबैको विश्वासका धरोहरका रूपमा परिणत हुनेछन् । यसैले विगतका कमि कम्जोरीबाट पाठ सिकेर राजनीतिक आग्रह पूर्वाग्रह नराखी भागबन्डीय राजनीतिबाट मुक्तभै सक्षम तथा योग्य पदाधिकारीहरूको नियुक्ति गर्नुनै आजको खाँचो हो । समयको माग हो । सबैलाई चेतना भया ।

(शर्मा त्रिविका सह प्राध्यापक हुन ।) 

प्रकाशित मिति : २९ असार २०७६, आईतवार १३:३४