७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

 बंगलादेशका पूर्व राष्ट्रपति मोहम्मद एर्सादको निधन


२९ असार, ढाका ।  बंगलादेशका पूर्व राष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ । सन् १९९० मा सत्ता छाड्नुअघि एर्सादले सन् १९८३ देखि १९९० सम्म बंगलादेशको सत्ता सम्हाल्नु भएको थियो । एर्सादले सन् १९८२ अप्रिल २४ मा जननिर्वाचित राष्ट्रपति अब्दुस सत्तारलाई सत्ताच्यूत गरी शासनभार आफूले लिनुभएको थियो ।

फाइल फाेटाे

सन् १९९० मा भएको जनप्रदर्शनबाट सत्ता छाड्न बाध्य हुनुभएका एर्सादलाई त्यसपछि भ्रष्टाचारको आरोपमा केही वर्ष जेल सजाय दिइएको थियो । पछिल्लो समय जातीय पार्टी खोल्नु भएका एर्सादको बुढ्यौली उमेरका जटिलताका कारण निधन भएको उहाँका पूर्व सहकर्मी एवं सांसद काजी फिरोज रसिदले बताउनुभयो ।

सैनिक जनरल एर्सादले रक्तपातविहीन राज्यविप्लव मार्फत जननिर्वाचित सरकारबाट सत्ता हत्याउनुभएको थियो । उहाँकै शासनकालमा इस्लामलाई बंगलादेशको राज्यधर्म बनाइएको थियो । सन् १९९० को दशकमा सत्ताच्यूत भएपनि उहाँको जातीय पार्टीले संसदमा तेस्रो स्थान हासिल गरेको थियो । उहाँ वर्तमान प्रधानमन्त्री शेख हसिनाको पार्टीको एक प्रमुख गठबन्धनमा थियो । एर्साद आफ्नो निर्वाचन क्षेत्रमा निकै लोकप्रिय नेता पनि हुनुहुन्थ्यो जहाँबाट उहाँले लगातार छ पटक संसदीय निर्वाचनमा विजयी हुनुभएको थियो ।

प्रकाशित मिति : २९ असार २०७६, आईतवार १२:५७