६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

विद्यार्थी मृत्यु प्रकरणः प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर


२७ असार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् । विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ ।

घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा भारतमा मृत्यु भएपछि मृतकका अभिभावकले विद्यालयका प्रिन्सिपल र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित पाँच जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले उक्त प्रकरणमा मृतकका अभिभावकले विद्यालयका प्रिन्सिपल यशोदा जोशी, व्यवस्थापन समितिका अध्यक्ष निरञ्जनप्रसाद बोहरा र शिक्षकहरु लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीविरुद्ध मुद्दा दर्ता भएको बताउनुभयो ।

“मुद्दा दर्तापछि म्याद थप गरेर हामी आवश्यक प्रमाण सङ्कलनमा जुटेका छौँ”, प्रहरी निरीक्षक भट्टले भन्नुभयो, “प्रहरी सूक्ष्म रुपमा घटनाको अनुसन्धान गर्दैछ । प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताउँदै उहाँले घटनाको धेरै कोणबाट अध्ययन भइरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार १३:११