८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नियन्त्रणमा आएन टाइफाइडः बिरामी बढ्दै, औषधि घट्दै


२६ असार, डाेल्पा । डोल्पामा एक साताअघि शुरु भएको टाइफाइडको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । जिल्ला अस्पतालमा बिरामी चाप बड्न थालेपछि टाइफाइड नियन्त्रणमा आउन नसकेको हो । बिरामीको चाप बडेपछि १५ श्ययाको जिल्ला अस्पतालमा २५ जना बिरामीले उपचार गराइरहेको जिल्ला अस्पतालले जनाएको छ । केही दिन अगाडि मात्रै २१ जना बिरामीले बेडमै उपचार गराइरहेका थिए ।

दैनिक उपचार गराउन आएका चारदेखि पाँच जना बिरामीमध्ये दुईदेखि तीन जनालाई बेडमै राखेर उपचार गराउनुपर्ने अवस्था देखिएको अस्पतालले जनाएको छ । बिरामी हुनेमा अधिकांश ठूलीभेरी नगरपालिका वडा नं २ र ३ का सर्वसाधारण रहेका छन् ।

अस्पतालमा पर्याप्त बेड नहुँदा १५ जनालाई बेडमा र १० जनालाई भुइँमै राखेर उपचार गराइरहेको डाक्टर सिजन रावलले जानकारी दिनुभयो । बेड नहुँदा जिल्ला अस्पतालमा कार्यरत अस्पताल क्वाटरमा बस्दै आएका स्वास्थकर्मीको बेड ल्याएर उपचार गराइरहको उहाँले बताउनुभयो ।

प्रकोप नियन्त्रणका लागि प्रदेश र केन्द्रमा समेत जानकारी गराइसकिएको डा रावलले बताउनुभयो । दिनहुँ बिरामी बड्दै गए टाइफाइडले ठूलो रुप लिनसक्ने खतरा रहेको बताउँदै रोकथामका लागि स्थानीय, प्रदेश र केन्द्र सरकार गम्भीर हुनुपर्ने डा रावलको भनाइ छ । तीन दिनदेखि जहाज नआएपछि प्रदेश सरकारले पठाएको औषधि नेपालगञ्जमै रोकिएको छ । बिरामीको चाप बड्दै गएकाले औषधि भने सकिन थालेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १८:०१