१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अब खल्तीबाटै डिम्याट र मेरो शेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिने


२६ असार, काठमाडौँ । शेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि खल्तीबाटैहितग्राही खाता (डिम्याट) र मेरोशेयरको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् । ‘खल्ती डिजिटल वालेट’ले बिहिबारबाट खल्ती एप तथा वेबसाइट प्रयोग गरी अनलाईनबाटै डिम्याट र मेरोशेयरको वार्षिक नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक रुपमा सुरुवात गरेको हो ।

यो सेवाको सुरुवात सँगै खल्तीले एप तथा वेबसाईटमा ’शेयर’ नाम दिइएको एउटा नयाँ आईकन ल्याएको छ जहाँबाट केहि क्लिकमै बिना कुनै अतिरिक्त शुल्क छिटो र सजिलो तरिकाले डिम्याट तथा मेरोशेयर नवीकरण शुल्क भुक्तानी गर्न सकिनेछ । खल्तीले संचालनमा ल्याएको यस सेवाले डिम्याट तथा मेरोशेयर खातावालहरु विभिन्न क्यापिटल तथा मर्चेन्ट बैंकिङको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नु पर्ने झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ ।

यस्तो डिजिटल भुक्तानी सुविधाबाट डिम्याट तथा मेरोशेयर खातावालहरु लाभान्वित हुने खल्तीले विश्वास लिएको छ । डिम्याट र मेरो शेयर नवीकरण शुल्क भुक्तानी सेवाको औपचारिक सुरुवात गर्दै खल्तीका म्यानेजिङ डाइरेक्टर मनिष मोदीले भने, “नेपालको सन्दर्भमा अहिले पनि डिम्याट तथा मेरोशेयर खातावालहरु मर्चेन्ट बैंकिङको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नु पर्ने बाध्यता छ । खासमा यो काम त्यति धेरै बोझिलो हुनुहुँदैन भन्ने हेतुका साथ खल्तीले मोबाईलबाटै सहजतापूर्ण तरिकाले नवीकरण शुल्क भुक्तानी सेवा सुचारु गरेको हो । हामीलाई आशा छ खल्तीले ल्याएको यो सेवा मार्फत अब डिम्याट तथा मेरोशेयर खातावालहरुको उक्त बोझ हटेर जानेछ । यस सेवाको सुरुवातसँगै हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एउटा अर्को पाइला अगाडी सारेको महसुस गरेका छौँ ।”

अहिले तत्कालका लागि जम्मा छ वटा क्यापिटल तथा मर्चेन्ट बैंक खातावालहरुले यो सेवा प्रयोग गर्न सक्नेछन् । जसमासनराइज क्यापिटल, लक्ष्मी क्यापिटल,सानिमा क्यापिटल, प्रभु क्यापिटल, एनआइसी एसिया क्यापिटल, र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् । खल्तीले छिट्टै अरु धेरै क्यापिटल तथा मर्चेन्ट बैंकका खातावालहरुमाझ यो सेवा विस्तार गर्नेछ । सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदीयमान र रुचाइएको पेमेन्ट गेटवे हो।

खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमाशुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाखभन्दा बढी रहेको छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १६:२४