६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

तनहुँमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम


२६ असार, दमाैली । सरकारले शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम तनहुँमा प्रभावकारी देखिएको छ । दश स्थानीय तहमध्ये नौ वटामा शुरु गरिएको सो कार्यक्रमअन्तर्गत सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरबास निर्माणलगायत काम भइरहेको छ । व्यास नगरपालिका बाहेक अन्य नौ स्थानीय तहमा उक्त कार्यक्रम शुरु गरिएको हो ।

कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाअन्तर्गत छोटो समयमै पनि ती स्थानीय तहमा विकासको राम्रो काम भएको बताइएको छ । उक्त कार्यक्रममार्फत जिल्लाको भिमाद नगरपालिकामा सडक नाला, पहिरो व्यवस्थापन, बगँैचा निर्माणलगायत काम गरिएको छ । सामुदायिक आयोजना निर्माणका लागि शुरु भएको कार्यक्रमबाट उक्त नगरपालिका–१, २, ५, ८ र ९ मा विभिन्न पाँच निर्माणको काम गरिएको रोजगार संयोजक विवेचन घिमिरेले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमअन्तर्गत नगरपालिकाका १०० जनाले रोजगारी पाएका छन् । यस कार्यक्रमबाट विपन्न परिवार प्रत्यक्ष लाभान्वित हुनाका साथै ठूलो धनराशि खर्च गरी बनाइएका सडकको मर्मतसम्भार विद्यालय परिसरमा सरसफाइ, बगैँचा निर्माण कार्य भइरहेको उहाँको भनाइ थियो ।

सोही कार्यक्रमअन्तर्गत देवघाट गाउँपालिकामा ६१ जनाले काम पाएका छन् । गाउँपालिकाका रोजगार संयोजक धु्रव आचार्यले वडा नं १ स्थित गोपीटार घरबास र कराँदीप घरबासका सामुदायिक भवन निर्माणका साथै वडा नं २ को बैदीमा शौचालय, सडक पेटी तथा चौतारो निर्माणमा लगाइएको छ ।

बन्दीपुर गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङले सोही कार्यक्रमअन्तर्गत वडा नं को ४ पुन्टेखोला नाला निर्माण, वडा नं २ को गुर्दुम नाला निर्माण र बन्दीपुर गाउँपालिका–१ को पिप्लेनाला निर्माणमा ३५ जनाले काम पाइरहेको जानकारी दिनुभयो ।

भानु नगरपालिकामा सडक, नाला मर्मत, सामुदायिक भवनमा रङरोगन, सार्वजनिक जग्गामा फलफूलका बिरुवा रोपनलगायत कामका लागि २५ जनाले काम पाएका छन् भने वडा नं २ को चाम्बास खहरेमा भत्किएको सडक मर्मतका लागि २५, वडा नं १२ स्थित गाउँसेवा कोष र घलेछाप सामुदायिक भवनमा रङरोगनका लागि २५ वडा नं ४ स्थित भानु जन्मस्थल विकास समिति प्राङ्गण सरसफाइ र रङरोगनमा २५ जनालाई खटाइएको उक्त नगरपालिकाका रोजगार संयोजक कृपाहरि लौडारीले जानकारी दिनुभयो ।

आँबुखैरेनी गाउँपालिकामा बाटो मर्मतका लागि १६ जनालाई खटाइएकोे रोजगार सेवा केन्द्र प्रमुख कमला गैह्रेले जानकारी दिनुभयो । यसैगरी म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, रिसिङ, घिरिङ र बन्दीपुर गाउँपालिकामा पनि सो कार्यक्रम सफल भइरहेको त्यहाँका पदाधिकारीले बताए ।

प्रकाशित मिति : २६ असार २०७६, बिहीबार १३:११