७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

अग्नी सापकोटाविरुद्धको ज्यान मुद्दामा प्रतिलिपि मगाउन सर्वोच्चको आदेश


२५ असार, काठमाडाैँ ।  सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको मुद्दामा पूर्वमन्त्री तथा तत्कालीन माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आज नेता सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन लामा हत्याको घटनामा उक्त आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘आयोगमा उजुरी दिएको छ कि छैन ? उजुरी दिएको भन्ने प्रमाणित भएमा त्यसको प्रतिलिपि र उजुरी नपरेको भए अदालतलाई जानकारी दिनू ।’ अदालतले आयोगलाई उक्त मुद्दाको उजुरीका बारेमा अदालतलाई जानकारी दिन भनिएको छ ।

लामाको विसं २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परी दुई महीनापछि शव फेला परेको थियो । लामाकी पत्नी पूर्णिमाया लामाले २०६९ साल मङ्सिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गर्नुभएको थियो । लामाको हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो ।

सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो । त्यसअघि २०७२ चैत १२ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सो मुद्दा संवैधानिक इजलासमा हेरिने आदेश दिएको थियो ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार २१:४५