१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्रधानमन्त्री रोजगार कार्यक्रमको सफलताः दैलेखका ५२ जना राउटेले एकै पटक पाए रोजगारी


२१ असार, काठमाडाैँ । प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्नहरूको हितका निम्ति महत्वपूर्ण काम गरेको छ । यो नेपाली मोडलकै सबैभन्दा बढी सफल कार्यक्रम बन्ने संकेत समेत देखिएको छ । केही स्थानीय तहले समयमै प्रधानमन्त्री रोजगार कार्यक्रमका निम्ति योजना छनाैट र पहिचान गर्न नसक्दा समस्या देखिए पनि सारमा यो कार्यक्रम निकै सफल देखिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गरिबीको रेखा मुनी रहेका अति विपन्न नागरिकले रोजगारीमात्र पाएका छैनन् उनीहरूको श्रम र सीपबाट स्वयं गाउँकै मुहार फेरिएको छ । अरू बेलामा सरकारसँग पैसा माग्नु पर्ने र हालसम्म दैनिक ज्यालादारीमा काम नगरेका दैलेखका राउटेले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्य्रक्रम मार्फत रोजगारी पाएका छन ।

राउटेहरूले वृक्षारोपण गरिरहेको तस्बीर नगेन्द्र उपाध्यायले नागरिक दैनिकका लागि कैद गरेका हुन । हामीले यहाँ स्रोत उल्लेख गर्नेगरी तस्बीर प्रयोग गरेका छाैँ ।

दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायलाई वृक्षारोपण र गोरेटो बाटो निर्माणमा काम गरिरहेका छन । हालसम्म रुखमात्रै काट्दै आएका राउटे समुदायले नै रुख रोप्न थालेपछि स्थानीय सरकार समेत दंग परेको छ । दैलेखको यो कार्यक्रममा राउटे समुदायका ५२ जना सहभागी रहेका छन । उनीहरूले दैनिक ज्याला पाँच सय १७ रुपैयाँ पाउँछन् ।

गाउँपालिकाका अनुसार उनीहरूले यस पटक नाै दिनका लागि रोजगारी पाउँदैछन । उनीहरूले निर्माण गरेको गोरेटो बाटोलाइ चाहिँ  ‘राउटे पदमार्ग’ नामाकरण गरिएको छ ।  सउनेसंक्रान्ति विशेष पर्वको रूपमा मनाउने राउटेका लागि त्यही चाडको मुखमा मिलेको रोजगारीले सबैको मुहारमा खुशी ल्याएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार २१:०१